रोजगारीका लागि भारत गएका पश्चिम नेपालका सयौं नेपाली बेपत्ता

डोटी / रोजगारीका लागि भारत गएका पश्चिम नेपालका सयौं नेपाली घरपरिवारको सम्पर्कमा नरहेर बेपत्ता भएको निड्स नेपालले जनाएको छ ।

एक गैरसरकारी संस्था निड्स नेपालले सुदूरपश्चिम प्रदशेका अछाम, कञ्चनपुर तथा डोटीका कामका लागि भारत गएका नेपाली मजदूरमध्ये १ सय ६५ जना वेपत्ता भएको तथ्यांङक सार्वजनिक गरेको छ ।

निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना कार्यक्रम अन्तरगत अछाम, कञ्चनपुर र डोटी जिल्लामा बेपत्ता भएकाहरुको तथ्यांङक संकलन गर्ने गरेको छ ।

निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले मजदूरीका लागि भारत गएकामध्ये यतिठुलो सँख्यामा मानिस हराएको तथ्यांङक रहेको जानकारी दिए ।

हराएकाहरुको खोजीका लागि स्थानीय प्रशासनमा उजुरी नपर्दा पनि यकिन तथ्यांक संकलनमा समस्या भएको प्रमुख मडैले बताएका छन् ।

सो क्षेत्रका स्थानियहरु वर्षेनी रोजगारीका लागि छिमेकी मुलुक भारत जाने र त्यहाँबाट फर्केर नआउने गरेका कारण बेपत्ता हुनेको संख्या बढ्न थालेको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले रोजगारीमा गएर भारतमै बेपत्ता भएकाहरुको बारेमा यकिन विवरण बुझने काम भईरहेको बताएका छन् । यो समाचार विमल विष्टले न्यूजअफनेपालमा लेखेका छन् ।