रात्रिकालीन फुटबलमा न्यू स्टारको जीत

भद्रपुर / न्यू स्टार क्लव रोपबाडी झापाको भद्रपुरमा सञ्चालन भइरहेको रात्रिकालीन भद्रपुर गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

नयाँ वर्ष २०७६ को अवसर पारेर स्थानीय एलेभेन साइनिङ स्टारले आयोजना गरेको सो प्रतियोगिता अन्तर्गत आइतबार बेलुकी सम्पन्न खेलमा राजगढ फुटबल क्लवलाई ४–० गोल अन्तरले पाखा लगाउँदै न्यू स्टारले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

मध्यान्तरअघि १–० ले अघि रहेको न्यू स्टारका तर्फबाट मध्यान्तरपछि ३ गोल भएको थियो ।
खेल शुरु भएको नवौं मिनेटमा १७ नं जर्सीका रोमन भुजेलले गोल गर्दै न्यू स्टारलाई अग्रता दिलाएका थिए भने मध्यान्तरपछि पाँचौं मिनेटमा जर्सी नं ९ का हियुस थपलियाले टिमका लागि दोस्रो गोल गरे ।

त्यस्तै मध्यान्तरपछि मैदानमा छिरेका २२ नं जर्सीका सञ्जोग राईले १५ औं मेनेटमा गोल गरे । उनी १९ वर्षमनिको राष्ट्रिय टिमका खेलाडी हुन् ।

खेल सकिन एक मिनेट मात्र बाँकी रहँदा जर्सी नं ९ कै हियुसले गोल थपे । उनले दुई गोल गरे । खेलमा राम्रा अवसर पाए पनि राजगढले गोल गर्न सकेन ।

सोमबार बेलुकी श्रीजंगा फुटबल क्लव ज्ञानेचोक र सैनिक फुटबल क्लवबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष दिलीप भुइँमालीले जानकारी दिए ।