माथिल्लो भुरुण्डी खोला निर्माण हुँदै, ४ वर्षमा विद्युत उत्पादन

काठमाडौं / ३.७५ मेगावाटको माथिल्लो भुरुन्डी खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । अम्बे हाइड्रो पावर कम्पनीले कास्कीको अन्नपूर्ण र मोदी गाउँपालिकाको सीमामा पर्ने भुरुन्डी खोलामा आयोजना निर्माण गर्न लागेको हो ।
कम्पनीले आयोजना निर्माण गर्न विद्युत विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएको छ । विभागले उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।
विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असर हुने भएमा त्यस सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र राय/सुझाव दिन आग्रह गरेको छ ।
भुरुन्डी खोलामा १५ मिटर लम्बाई तथा ५ मिटर उचाईको बाँध निर्माण हुनेछ । ३२ मिटर लम्बाई ४ मिटर चौडाई र ५.३ मिटर गहिराईको बालुवा थिग्राउने पोखरी निर्माण हुनेछ ।
खोलाको पानी विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्न २१५०.७३ मिटर लामो हेडरेस पाइप जडान गर्ने गरी डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ ।
आयोजनाबाट २०८० सालभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । भुरुन्डी आयोजना सम्पन्न हुँदा वार्षिक २०.०२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।
उत्पादन हुने विद्युत ४ किलोमिटर टाढाको मोदी सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।