कुखुराको दाना उत्पादन गर्ने उद्योगमा एक भारतीय ट्रक चालकको मृत्यु

मोरङ / कुखुराको दाना उतपादन गर्ने उद्योग परिषरभित्र ट्रकका एक चालक मृत अवस्थामा भेटिएका छन् ।
दाना उत्पादन गर्दै आएको मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित उद्योग परिषरभित्र ट्रक चालक मृत फेला परेका हुन ।
बीआर ११ जीए ०७६१ नम्बरको ट्रकका चालक भारतको विहार पूर्णियाका ३७ वर्षीय इन्द्रजीत मण्डलको शव शनिबार बिहान भेटिएको हो ।
उनी नेपाल वेल होप एग्रिटेक प्रालि अन्तर्गतको विजय पेलेट दाना उद्योगका लागि भारतबाट मकै ढुवानी गर्ने चालक रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार मण्डल खाना खाएर हिजोराति त्यही ट्रकमा लोड गरिएको मकैको बोरामाथि सुतेको पाइएको छ ।
मकैको बोरामाथि सुतेका ट्रकका चालकलाई बिहान भुइँमा खसेको अवस्थामा मृत फेला पारिएको एसपी खड्काले बताए ।
निधाएका बेला चाल नपाएर ट्रकबाट खसेपछि उनको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।