• September 28, 2020

झापाली समाज युएसको प्रथम अधिवेशन सम्पन्न, झापाको शैक्षिक विकासमा सहयोग गर्ने घोषणा

 झापाली समाज युएसको प्रथम अधिवेशन सम्पन्न, झापाको शैक्षिक विकासमा सहयोग गर्ने घोषणा
मनपरे शेयर गरौ ! 


झापा / अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्ने झापाली संगठित भई बनेको झापाली समाज युएसएको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

झापाली बीच आपसमा भाईचारा र बन्धुत्वको सम्वन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गर्ने उद्देश्यका साथ गठन भएको संस्थाको ‘शिक्षामा सबैको पहुँचको लागि सामुहिक योगदान, एक व्यक्ति एक विद्यार्थी हाम्रो अभियान’ भन्ने नाराका साथ अधिवेशन सम्पन्न भएको हो ।

झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ संस्था गठन भएको झापाली समाज युएसएको प्रथम अधिवेशन प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको प्रमुख अतिथ्यमा भएको थियो ।

झापाली समाज युएसएको भर्चुअल प्रविधिबाट अधिवेशनको उद्घाटन गरिएको हो ।
कार्यक्रममा मन्त्री कार्कीले समाजले गर्न लागेको शैक्षिक अभियानको प्रशंसा गरेका थिए ।

साथै प्रदेश सरकारले आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
सभामा विशेष अतिथि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले समाजको यो अभियानले शैक्षिक क्षेत्रको सुधारमा महत्वपूर्ण योगदान रहने बताए ।

उनले समाजको यो अभियान झापामा मात्र सिमित नगरी विभिन्न प्रदेशका जिल्लामा पनि शुरू गर्न आग्रह गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव डा.भोजराज घिमिरेले सन्देश मार्फत अधिवेशनको सफलताको कामना गरे ।

नेपाल बारका पूर्व केन्द्रीय उपाध्यक्ष तथा झापा विकास मञ्चका अध्यक्ष अधिवक्ता हरिप्रसाद उप्रेती, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल लगायतले समाजको कार्यको प्रशंसा गरेका थिए ।

अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय अध्यक्ष छत्र सुब्बा (हङकङ) र संरक्षक दिनेश पोखरेल (अष्ट्रेलिया) दुवैले यो शैक्षिक अभियान अमेरिकाले शुरू गरेको भए पनि अन्तर्राष्ट्रिय झापाली समाजकै अभियानको रूपमा रहेको बताए ।

अझासका वरिष्ट उपाध्यक्ष दिपक खनाल (अष्ट्रेलिया)ले एक जना विद्यार्थीलाइ उच्च माध्यमिक तहसम्मको अध्ययनमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले शैक्षिक संस्थामा हुने राजनीति बन्द भए आधा शैक्षिक क्षेत्रको समस्या समाधान हुने विचार व्यक्त गरे ।

झापाली समाज युएइका राष्ट्रिय अध्यक्ष अशोक चापागाईले यो अभियानमा झापाली समाज युएइले पनि साथ दिने बताउँदै समाजले नेपालमा १५ लाखको अक्षयकोष शैक्षिक क्षेत्रको सुधारमा सहयोग गर्ने गरी स्थापना गरिसकेको जानकारी दिए ।

कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मा, अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार डा.शम्भु ढुंगाना, ए.एन.ए.का अध्यक्ष खगेन्द्र अधिकारी, झापाली समाज यु.एस.ए.का सल्लाहकार तथा मिशन रिविल्ड नेपाल अध्यक्ष डा. मदन उप्रेती, सल्लाहार प्राडा गोपी उप्रेती, एनआरएन आइसीसी सदस्य यमुना भट्टराइ, इन्जाको अध्यक्ष गुणराज लुइँटेल, नेपाल पोलिसि इन्स्टिच्यूटका संस्थापक तथा युएनका रिटार्यड अफिसर केदार नेउपाने (स्वीजरलेण्ड), आइसिए नेपालका संस्थापक अध्यक्ष डा. तत्वप्रसाद तिम्सिना, झापा समाज, काडमाण्डौका अध्यक्ष डा.आनन्द श्रेष्ठ, अझासका सल्लाहकार मेघराज नेपाल (जापान) आदिले बोलेका थिए ।

मुकुन्द ढुंगानले सभापतित्व तथा नीलम विमलीले सञ्चालन गरेको कार्यक्रममा शैक्षिक अभियान बारेमा असिस्टेन्ट प्रोफेसर डा.भेषराज मैनाली र जिल्लामा स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामको बारेमा डा.खगेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

दुई दिन चलेको अधिवेशनमा डा.शम्भु ढुंगानाले विधान संशोधन मस्यौदा प्रस्तुत गरेका थिए भने समाजका महासचिव निलम विमलीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष डिल्ली थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्राडा गोपीनाथ उप्रेती अध्यक्ष, डा. शम्भु ढुंगाना र खगेन्द्र अधिकारी रहेको निर्वाचन समितिले मुकुन्द ढुंगाना (भद्रपुर)को अध्यक्षतामा क्रमशः वरिष्ठ उपाध्यक्ष यमुना भट्टराइ (दमक), उपाध्यक्षहरू सीता पाण्डे (गौरादह), प्रदिप तिम्सिना (भद्रपुर), नारायण शिवाकोटी (देउनीया), नविन पोखरेल (बुधवारे), महासचिव निलम विमली (सुरूंगा), सचिव युवराज खतिवडा (शिवगञ्ज), कोषाध्यक्ष युवराज खनाल (बिर्तामोड), सदस्यहरू डा.भेषराज मैनाली (चकचकी), डा.लीला खतिवडा (शिवगञ्ज), खगेन्द्र दाहाल (सुरूंगा), कविन्द्र सिटौला (चारपाने), टीका पौडेल (गौरादह), प्रसन्न संग्रौला (कांकरभिट्टा), मोहन निरौला (दमक), मञ्जु संग्रौला (बुधवारे), डिल्ली थापा (धुलावारी), बेद बस्नेत (दमक), दिपक पाण्डे (गरामुनी), विकास उप्रेती (धुलावारी), सावित्रा ओली भण्डारी (गौरादह), कृष्ण खतिवडा (गरामनी), मोहन उप्रेती (शिवगञ्ज) र डा. पर्शुराम दाहाल (भद्रपुर) रहेको २५ सदस्यीय समिति सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गरेका थिए ।

अधिवेशनको समापन गर्दै पुनः निर्वाचित अध्यक्ष मुकुन्द ढुंगानाले २५ लाखको अक्षयकोषलाई तीन वर्ष भित्र बढाएर १ करोड पुर्याउने बताए ।

अभियानबाट आगामी तीन वर्ष भित्रमा २०० जना विद्यार्थीको उच्च माध्यमिक तह सम्मको अध्ययनमा सहयोग पुर्याउने घोषणा गरे ।

मनपरे शेयर गरौ ! 

Related post