• October 29, 2020

कोरोनाबारे सचेतना फैलाउँदै शसस्त्र प्रहरी

 कोरोनाबारे सचेतना फैलाउँदै शसस्त्र प्रहरी
मनपरे शेयर गरौ ! 


भैरहवा / सीमा सुरक्षा गरि रहेको शसस्त्र प्रहरीले सीमा क्षेत्रमा रहेका स्थानियलाई कोरोना भाइरसबाट जोगिने जानकारी मुलक सचेतना फैलाउने अभियान सुरु गरेको छ ।

बिशेष गरि रुपन्देहीका सीमा क्षेत्रका बासीन्दालाई लक्षित गरि कोभिड–१९ बाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहि शसस्त्र प्रहरीले अभियान थालेको छ ।

शसस्त्र प्रहरी बल नेपाल, नम्बर २७ गण हेड क्वार्टर रुपन्देहीले बिहिबार मात्र जिल्लाका बिभिन्न १४ स्थानमा सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिएको छ ।

सीमा क्षेत्रमा बसोबास गर्ने महिला, जेष्ठ नागरिक र बालबालिकालाई लक्षित गरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको शसस्त्र प्रहरी बल नेपाल, नम्बर २७ गण हेड क्वार्टर रुपन्देहीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

उनले स्थानियहरुलाई सुरुमा हात धुने तरिकाबाट सुरु गरि नागरिकलाई कोभिडबारे आधारभूत जानकारी र यसबाट जोगिने तरिकाबारे जानकारी गराएका थिए । उनिहरुलाई परामर्शको साथै कोभिडबारे तयार गरिएको बिभिन्न सचेतनामूल पर्चा पम्पलेट र मास्क बितरण गरिने छ ।

सामान्य जानकारी सहितको सचेतना फैलाउने उद्देश्य सहित सुरु गरिएको यो अभियान आगामी दिनमा पनि निरन्तरता दिने शसस्त्र प्रहरीको भनाई छ ।

रुपन्देहीको भैरहवामा बिहिवार भएको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले संक्रमण फैलिन नदिन टोल टोल र गाउँ गाउँमा सचेतनाका प्रभावकारी कार्यक्रमहरु अनिवार्य रहेको बताए । उनले नागरिकहरुलाई सचेत बनाउने यो अभियानमा पूर्ण साथ रहने बताए ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग रुपन्देहीका प्रमुख सुशान्त बराल लगायतको उपस्थिति थियो ।

मनपरे शेयर गरौ ! 

Related post