• November 25, 2020

कोभिड अस्पताल धरानमा उपचाररत तीन संक्रमितको मृत्यु

 कोभिड अस्पताल धरानमा उपचाररत तीन संक्रमितको मृत्यु
मनपरे शेयर गरौ ! 


धरान / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आज उपचाररत तीनजना कोरोना संक्रमितको ज्यान गएको छ ।

मृत्यु हुने मोरङका एक पुरुष र सप्तरीका एक महिला र एक पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जनाएका छन् ।

कात्तिक ९ गते कोरोना पोजिटिभ पुष्टि भएका मोरङका ५९ वर्षीय पुरुषलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचाप र मुटु सम्बन्धी दीर्घरोगी पुरुषको बिहीबार बिहान ३ बजे मृत्यु भएको थियो ।

यसैगरी सप्तरीको राजविराज १ का २३ वर्षीया महिलालाई कात्तिक २८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

रक्तअल्पता, पेन्सीटोपेनिया, हाइपोथिरोइडिज्म र पोलिस्टिक डिजिजका रोगी महिलालाई कात्तिक १८ गते कोरोना पोजिटिभ देखिएको थियो । उनको पनि बिहीबार बिहान ३ बजेर १५ मिनेटमा मृत्यु भएको थियो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीकै राजविराज ८ का ६५ वर्षीय पुरुषलाई कात्तिक १५ गते कोरोना पोजिटिभ भएको र सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

दीर्घ रोग नदेखिएका उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post