आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

झापा / आज छठ पर्वको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर मनाइदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको हो । साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन खोला नालालाई दुलही झैँ सजाइएको छ ।
केही ठाउँका जलाशय बनाएर सजाइएको छ ।
कोरोना संक्रमण जोखिमका कारण यसवर्ष धेरै ठाउँमा घरमै छठ पर्व मनाईंदैछ । सरकारले घरमै छठ पर्व मनाउन अनुरोध गरेको छ । घरबाहिर छठ मनाईंए अनिवार्य रूपमा भौतिक दूरी र स्वास्थ्य सुरक्षा मादण्ड पालना गर्न सरकारले अनुरोध गरेको छ ।
छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान छ ।
षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।