• November 25, 2020

साना किसान सहकारी जलथलको दशौँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः कृष्णमाया गिरी 

 साना किसान सहकारी जलथलको दशौँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः कृष्णमाया गिरी 
मनपरे शेयर गरौ ! 

जलथल / साना किसान कृषि सहकारी संस्था लि जलथलको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्तिक २० देखि २८ गतेसम्म अन्तर समूहमा स्थानीय साधारणसभा सकेर संस्थाले बिहीबार पूर्ण साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष कृष्णमाया गिरीको सभापतित्वमा आयोजित साधारणसभाको उद्घाटन प्रमूख अतिथि हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले गरेका थिए ।

प्रमुख अतिथि गिरीले साना किसान जलथल हल्दिबारी गाउँपालिकाकै अव्बल सहकारी रहेको भन्दै आगामी दिनमा कृषिसँग सम्बन्धित कुनै पनि कार्यक्रमहरु साना किसान सहकारीसँग मिलेर गर्न गाउँपालिका तयार रहेको प्रष्ट पारे ।

संस्थाले प्रगति गर्नमा सम्वन्धित संस्थाको सञ्चालक समिति तथा योग्य र दक्ष कर्मचारीको हात रहेको भन्दै उपाध्यक्ष गिरीले प्रसंशा गरेका थिए ।


हालको विकसित प्रविधिको प्रयोगले संस्था अब्बल हुन सम्भव भएको बताउँदै प्रमुख अतिथी गिरीले कृषिजन्य कुनै पनि उत्पादनमूखी कार्यक्रममा साना किसान सहकारीलाई भरपुर सहयोग जुटाउन सक्दो पहल गर्ने आश्वासन दिए ।

साना किसान विकास बैंक इलाका कार्यलय बिर्तामोडका प्रवन्धक सुभाष गौतमले साना किसान जलथलले उत्पादन तथा मूल्य श्रृंखलासंग जोडिने कुनै सामूहिक काम गर्नु पर्ने बताए । सो कामका लागि जलथलका किसान इच्छुक रहे इलाका कार्यलयको तर्फबाट सहयोग गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा विषेश अतिथि साना किसान पृथ्वीनगरका सह प्रवन्धक ज्ञानेन्द्र लिम्बु, अन्तर समूहबाट प्रतिनिधित्व गर्ने सदस्य लगायतको उपस्थिति थियो ।

साधारणसभाको खुल्लासत्र प्रबन्धक तारा भटराईले सञ्चालन गरेकी थिइन् भने बन्द सत्रको सहायक प्रबन्धक युवराज भण्डारीले सञ्चालन गरेका थिए ।

साधारणसभाले ९ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । पुनः कृष्णमाया गिरीको अध्यक्षतामा सर्बसम्मत समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा तारा पौडेल तथा सदस्यहरुमा क्रमशः खेसकुमारी गिरी, माधवी तिम्सिना, कोपिला अधिकारी, निरा मैनाली, गोमा काफ्ले, कोपिला सिरुवाल र भिमा गौतम (राई) रहेका छन् ।

महामारीको समयमा पनि गाउँस्तरका सम्पूर्ण शेयर सदस्यको उपस्थितिमा सभा सम्पन्न गरेकोमा शेयर सदस्यले संस्थालाई धन्यवाद दिएका थिए ।

महामारीलाई मध्येनजर गरेर उपस्थितलाई मास्क र सेनिटाइजर लगायतको सुरक्षा व्यवस्था मिलाइएको संस्थाका सह व्यवस्थापक युवराज भण्डारीले जानकारी दिए ।

संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कृष्णमाया गिरीले सदस्यलाई कृषिजन्य उत्पादनसँग जोड्न विगत ९ वर्ष देखि नै सहकारीले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

अध्यक्ष गिरीले आगामी दिनमा संस्थामा आवद्ध सबै घरधुरीलाई कूनै न कूनै तर्फवाट प्रत्यक्ष वा अप्रत्क्ष रोजगारीसंग जोड्ने कुरा व्यक्त गरिन ।

दुईहजार चारसय १६ जना सदस्य रहेको संस्थाले ४ करोड १५ लाख ८४ हजार २०३ रुपैयाँ निक्षेप संकलन गरेको अध्यक्ष गिरीले जानकारी दिइन् ।

कुल १ करोड ३८ लाख ९९ हजार ८०० रुपैयाँ शेयर पुँजी रहेको संस्थाले ४० लाख ७१ हजार ८६९ रुपैयाँ नाफा कमाउन सफल भएको पनि जानकारी गराइयो ।

संस्थाका प्रवन्धक तारा भटराईले सस्थाले हाल गाउँ, जिल्ला, प्रदेश हुदै केन्द्रसम्म आफ्नो पहिचान र पहुच बनाउन सफल रहेको भन्दै खुसी व्यक्त गरिन् ।
उनले निकट भविष्यमा संस्थाले दुधमा विविधिकरणको कार्यक्रम संचालन गर्न सम्बन्धित निकायसंग प्रस्ताव राखेको पनि जानकारी दिइन् ।

साधारणसभामा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनको विस्तृत विवरण यसप्रकार छ ।

साना किसान कृषि सहकारी संस्था लि जलथल
हल्दिबारी गाउ पालिका ४, झापा
संस्था द. मिति :—२०६७/११/१२
द. नं. :— ३/१/७ (५२८)

दशौ वार्षिक साधारण सभा २०७७ अध्यक्ष द्धारा प्रश्तुत प्रतिवेदन

मिति :— २०७७ /०८/०४

आदरणिय शेयर सदस्य ज्यूहरु !

सभामा उपस्थित सभाका प्रमूख अतिथि ज्यू, विषिष्ठ अतिथि ज्यू, विभिन्न संध, संस्था, समतिबाट पाल्नु भएका अतिथि ज्यूहरु, जन प्रतिनिधि ज्यूहरु, संचालक समिति पदाधिकारी ज्यूहरु, कृषि उपसमिति पदाधिकारी ज्यूहरु लेखा उपसमितिका पदाधिकारी ज्यू, सल्लाकार उपसमितिका पदाधिकारी ज्यूहरु, ऋण अनुगमन तथा स्वीकृती उपसमितिका सदस्य ज्यूहरु, तथा सम्पुर्ण समिति उपसमितिका पदाधिकारी ज्यूहरु संस्थाका कर्मचारी साथीहरु, पत्रकार तथा संचारकर्मी मित्रहरु साथै उपस्थित सम्पूर्ण बुद्धिजिवी बुबाआमा दाजुभाई, दिदीबहिनी, महानुभावहरु !

सर्व प्रथम त म यस साना किसान कृषि सहकारी संस्था लि. जलथलकोे दशौं वार्षिक साधारण सभामा हाम्रो निम्तोलाई स्वीकारेर उपस्थित हुनु भएकोमा यहांहरुलाई हार्दिक स्वागत गर्दै नजिकै आउदै गरेको राष्ट्रिय पर्व पवित्र छठको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु ।

साथै हाल विश्वव्यापी महामारीको उग्र रुप लिदै गरेको कोरोना भाइरस महामारी बाट वच्न विश्व श्वास्थ्य संगठनले दिएको न्यूनतम सुरक्षा कवज अपनाउदै हाम्रो श्वास्थ्य अनुकूल वातावण सृर्जना गरि यस विषम परिस्थिति लाई परास्त गर्ने शक्ति प्राप्त गर्न सकियोस भन्ने कामना गर्दछौ ।

कृषि सहकारी संस्थाहरुको भिडमा छुट्टै पहिचान बनाएर अघि बढेको यस संस्थालाई साना किसान कृषि सहकारी संस्था लि. पृथ्वीनगरले मिति २०६७ वैशाख १ गते अनुसरण सुरु गरि २०६७/११/१२ मा तत्कालिन जिल्ला डिभिजन कार्यलय भद्रपुरमा दर्ता गरि दर्ता नं. ३/१/७ (५२८) रहेको मिति २०६९ वैशाख ८ गते विधिवत रुपमा साना किसान विकास बैंक संग आवद्ध गराई स्थानिय स्तरमै ब्यवश्थापन हस्तान्तरण गरि संचालित यस संस्थाले शेयर वचत संकलन र कर्जा प्रवाहका अलावा विशुद्ध कृषि अवधारणामा रहेर ग्रामिण भेगका अति विपन्न , साना तथा मझौला किसान लक्षित कार्यक्रम चलाउदै आएको छ ।

सुरु देखि नै वास्तविक कृषि पेशा अगालेर जिविकोपार्जन गर्दै आउनु भएका किसानलाई कृषि तथा पशुपालन सम्बन्धि विभिन्न खाले तालिम प्रविधिहरु , सल्लाह र आवश्यक कृषि उपज/सामाग्री तथा आर्थिक श्रोत जुटाएर अव निर्वाहमुखी कृषि प्रणाली बाट अलिकति मास्तिर उक्लिएर व्यवशायमुखि कृषि प्रविधिमा गइ आम्दानीको श्रोत बढाउने खालका कार्यक्रम चलाउदै आएको यस संस्थाले समय र परिस्थितिले उपलब्ध गराए सम्मका कृषि कार्यक्रम संचालन गर्दै आएको कुराहरु यहाँहरुलाई अवगत गराउदछु ।

अबका दिनमा राज्य, प्रदेश, जिल्ला हुदै गाउँ र नगरको प्रमूख एजेण्डा नै कृषि तथा पशुपालनमा लक्षित रहि यसैमा आधारित भएको परिस्थितिमा हाम्रो जस्तो पूर्ण कृषिमा आधारित रहेर संचालन भएको सहकारी संस्थालाई अझ बढि स्थानिय स्तरबाट सहयोग हुने अपेक्षा राखिएको छ ।

हालको विश्व महामारीले आक्रान्त भएको यस विषम परिस्थितिमा सामाजिक तथा भौतिक दुरी कायमै राख्नु पर्ने अवस्था रहेकोले सम्पुर्ण सदस्यहरु एक ठाममा उपस्थिति/भेला गराई विशाल साधारण सभा गराउन नसक्ने अवस्था रहेकाले राष्ट्रिय सहकारी निति, संस्था विनियममा व्यवश्था भएका कुरा तथा राज्यले ्िदएको निर्देशन अनुसार संस्थागत संरचनालाई आधार मान्दै हामीले मिति २०७७/०७/२० गते देखि २०७७/०७/२८ गते सम्म अन्तर समूह विषेश साधारण सदस्य भेला गराइ स्थानिय स्तर मै सस्था संग भए गरेका र हुने गर्ने कामहरुको पुर्ण प्रतिवेदन सदस्यहरुको हात हातमा दिदै संस्थागत सुझाव संकलन गर्दै विनियममा रहेको व्यवश्था अनुरुप यो सभा चुनावी साधारण सभा रहेकाले अन्तर समूह वाटै अन्तिम साधारण सभाको प्रतिनिधिका लागि योग्य र इच्छुक प्रतिनिधि सदस्यहरु यस अन्तिम साधारण सभा सम्म आइपुग्नु भएको कुरा यहाँ उपस्थित सम्पुर्णमा जानकारी गराउन चाहान्छु ।

संस्था स्थापना कालदेखि हाल सम्म आइपुग्दा यस संस्था द्धारा भए गरेका सामाजिक सामूदायिक प्रगतिहरु सम्पूर्ण यहाँ प्रश्तुत गर्न सकिएन सवै कार्यक्रमहरु हाम्रा शेयर सदस्य महानुभावहरु माझ प्रत्यक्ष सरोकारमा संचालित भएकाले सम्पूर्ण ब्याख्यान गर्न आवस्यक ठानिन ।

गत आर्थिक वर्ष भित्र किसान सदस्य हितमूलक विभिन्न संचालित कार्यक्रमहरु म बुदागत रुपमा प्रश्तुत गर्न गैरहेको छु ।

(१) साविक जलथल गा.वि.स.का प्रत्येक वडाका सवै किसानहरुलाई समेटिने गरि संस्थाले एक जना दक्ष पशु प्राविधिक मार्फत आफ्ना किसान सदस्यहरुको पशुपालन ब्यवश्थापनमा सेवा दिदै आएको छ ।

(२) संस्थाबाट विभिन्न शिर्षकमा प्रदान गरिने कर्जामा सदस्य र संस्था दुवैको हितका लागि विभिन्न किसिमका आपत विपद वाट वच्न बचाउन तथा आइपर्ने जोखिम कम गर्न कर्जामा म्यादी विमा कार्यक्रम लागु गरिएको छ ।

(३) राज्यले उपलब्ध गराए अनुसारको रासायनिक मल सदस्यहरुमाझ विक्रि वितरण गरिदै आएको छ भने किसान सदस्यहरुको जमिन नविग्रियोस भन्ने हेतुले प्राङ्गारिक/आर्गेनिक मल तथा जमिनको अम्लियपना कम गर्न कृषि चुन पनि सदस्यहरुलाई प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

(४) हाम्रा सदस्यहरुलाई आइपर्ने तत्कालिन विपद जस्तै आगलागि, चट्याङ, वाढि, हावाहुरी,सर्पदंश अथवा अन्य तत्कालिन आकस्मिक घटना/क्षतिलाई थोरै भएपनि राहत मिलोस भन्ने हेतुले संस्थामा छुट्टै राहत कोष खडा गरि संचालन गरिदै आएको र यसलाई निरन्तरता दिइदै लगिने कुरा यहाँहरुलाई जानकारी गराउदछु ।

(५) संचालक समिति पदाधिकारि, अन्तर समूह अध्यक्ष सचिव, लेखा समिति पदाधिकारी, कृषि समिति पदाधिकारीहरु सल्लाहाकार उपमिति लगायत संस्था संग प्रत्यक्ष सरोकारवाला सदस्यहरुलाई सहकारी शिक्षा र माइन्यूट लेखन तालिम गराइदै आएको छ ।

यसमा सुचना तथा प्रविधिको नौलो प्रयोग मार्फत अघि वढ्ने प्रयासमा रहिरहेको जानकारी गराउदछु ।

(६)संस्थाले समाजिक सामुदायिक कार्यक्रम अन्तर्गत साना सिचाई, सहुलयित मूल्यमा घाँस, मकै, धान तथा विविध विउ विजनहरु गत वर्ष झै यस वर्ष पनि वितरण गर्दै आएको छ ।

(७ं) गाइ पालन गरि दुुध उत्पादनलाई व्यवशाय नै वनाउनु हुने किसानहरलाई उत्साहित वनाउन संस्थामा वर्षभरिमा विक्रि गरेको जम्मा दुधमा प्रति लि. रु. ५/– का दरले प्रोत्साहन रकम वितरण गरि वास्तविक कृषि सहकारीको महसुस गराइएको छ ।

(८) कूल लगानी को ४२ प्रतिशत भन्दा वढि पशुकर्जा शुलभ ब्याजदरमा लगानि गरिएको हुदा सदस्यको हितलाई ध्यानमा राखि पशुधन सुरक्षण कार्यक्रम अन्तर्गत साना किसान सदस्यहरुको घरैमा गई संस्थाबाट कर्जा लिइ खरिद गरि विमा गरिएका पशुको श्वास्थ्य परिक्षण गरि संकेत पट्टा लगाएर सुरक्षित गर्ने काम गरिदै आएको छ ।

(९) संस्थाले गत वर्ष देखि नै संचालन गर्दै आएको दुग्ध संकलन तथा विक्रि वितरण कार्यक्रमलाई आधार मानि संस्थाको पहलमा भुमी व्यवश्था कृषि तथा सहकारी मन्त्रालयको ७० प्रतिशत सहयोग जुटाई दैनिक कम्तिमा ५०० लि. दुध संकलन गर्ने हेतुले बांगे वजार चिलिङ्गभ्याट सेन्टर स्थापना गरि संचालनमा ल्याइएको छ भने संस्थाको कार्यलय रहेको भवन बाट दैनिक १००० लि दुध संकलन गरि गाई पालक किसानहरुलाई ढुक्क संग आफ्नो व्यवशायमा लागिपर्न प्रोत्साहित वनाउने प्रयास गरिएको छ ।

(१०) गत वर्षहरु देखि नै उपलव्ध गराइदै आइएको पशु खाद्यय वस्तु, मौषम अनुसारको विउविजन तथा रासायनिक मल निरन्तरता दिइदै आउदा यस वर्षको मध्य देखि छाएको महामारीले उक्त कार्यक्रममा वाधा पु¥याउदा पनि राज्यले उपलव्ध गराए सम्मको वस्तुहरु स्थानिय किसानहरुको प्रत्यक्ष सहभागितामा भौतिक तथा सामाजिक सुरक्षा अपनाउदै आवश्यकता अनुसार जे जति छ दामासाहिका दरले वितरण गराइदै आएको कुरा जानकारी गराउदछु ।

(११) साना किसानको इच्छा, वालवालिकालाई शिक्षा भन्ने मूल मर्मलाई आत्मासात गर्दै यस संस्था कार्यक्षेत्र अन्तर समूह नं. ३ लाई लक्षित गरि सन्थाल जातिका ४० जना वालवालिकाहरुलाई विहानी कक्षा संचालन गरिदै विभिन्न सांस्कृतिक, सामाजिक शिक्षा प्रदान गरिदै आएको अवस्थाको अन्त्यमा महामारी कोभिड १९ का कारण पुर्ण गर्न नसकिएको तथा अवस्था सामान्य हुनासाथ यसले निरन्तरता पाउने छ ।

(१२) कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत हल्दीबारी गा.पा.को ७० प्रतिशत र हाम्रो संस्था साना किसान जलथलको ३० प्रतिशत प्रत्यक्ष लगानी/सहभागितामा प्राप्त ३ थान ट्याक्टर यस संस्थाको कार्यक्षेत्र भित्र पर्ने सवै घर धुरी भ्याए सम्म समेटिने गरि हाल संचालनमा रहि रहेका छन्, यसको उपलब्धि भने कृषि गतिविधि का निम्ति सन्तोष जनक नरहेको अवस्था अवगत गराउदछु ।

(१३) किसानलाई कृषि ब्यवशायी बनाउने ध्येय राखि गत वर्ष देखि नै माछा पालन, कुखुरा पालन तथा ब्यवसायिक तरकारी खेति गर्ने किसानहरुलाई उत्पादन अवधि हेरेर शुलभ कर्जा उपलब्ध गराइदै आएको छ । यसलाई निरन्तरता दिदै विभिन्न प्राविधिक सहयोग तथा वजार व्यवश्थापनका लागि सहयोग गरिने छ ।

(१४) कृषि उत्पादनमा बृद्धि, कृषकमा समृद्धि भन्ने संस्थाको आफ्नै नारालाई वास्तविकतामा परिणत गर्न यस वर्ष पनि जमिन उपलव्ध गराइएको स्थानलाई केन्द्र वनाई उत्साहि कृषकहरुको अगुवाईमा लहरेबाली तरकारी खेति सम्बन्धि ब्यवशायिक तालिम तथा ज्ञान दिएर कृषि ज्ञान केन्द्र झापा को आयोजना तथा यस संस्थाको व्यवश्थापनमा साना किसान आइ.पि.एम. कृषक पाठशाला संचालन गरि तरकारीबालीमा केहि हद सम्म भएपनि आत्मानिर्भर बनाउने प्रयास गरिएको छ ।

(१५) पशु नश्ल सुधारबाट मात्र स्वश्थ्य वाछावाछी तथा दुग्ध उत्पादनमा बृद्धि हुने भएकाले गाई/भैसीको कृतिम गर्भाधानका निम्ति भनेर संस्थाले यसका लागि सम्पूर्ण सामाग्रिहरुको व्यवश्थापनमा पशु स्वास्थ्य प्राविधिक द्धारा ए.आई. कार्यक्रम संचालन गरिदै आएको छ भने सम्पर्कमा आउनुहुने किसानहरुको गाई/भैसीको श्वास्थ्य परिक्षण गरि आवश्यकता अनुसार वाह्य तथा आन्तरिक परिजिवि नियन्त्रण औषधि, गोवर जाँच, जुका,किर्ना, नाम्ले जस्ता रोगको औषधि साथै मिनिरल र भिटामिन वितरण गरि श्वस्थ दुध उत्पादन गर्न प्रयास गरिएको छ ।

(१६) लेखा परिक्षकले सम्पूर्ण लेखा परिक्षण गरि निकालिएको रिपोर्ट अनुसार संस्थाको कूल शेयर पूँजिलाई आधार मानि जम्मा शेयर लाभांश रु. ९,१०,०६०/– निकालिएकोमा प्रति किता रु.६/५४ पर्न आउने रकम महामारीले साधारण सभा पर सर्ने भएका हुनाले संचालक समितिको निर्णय गरि सो रकम असोज ३० गते नै शेयर सदस्यहरुको खातामा जम्मा गरिएिको छ यसलाई यस सभा मार्फत अनुमोदन गर्न माग राख्दछु । (स्मरण रहोस उक्त लाभांश दैनिक प्रणालीबाट वितरण गरिएको छ )

(१७) दुग्ध उत्पादन कार्यक्रममा आधारित भएर गोठ सुधार, धाँसको विउ छनौट, उन्नत नश्ल जातका गाई छनौट आवश्यकिय औषधि उपचार का बारेमा छलफल जस्ता विषयमा केन्द्रित रहि पशुपालन सम्बन्धि किसानहरु माझ एक आपसमा अनुभवहरु साटासाट गराइ संस्था आफैले विभिन्न कार्यक्रम संचालन गर्दे आएको छ ।

(१८) कृषि तथा पशुपालनबाट मात्रै किसानहरुको जिवनस्तरमा कायापलट गर्न सकिन्छ भनि लागि परेको यस संथाले विभिन्न समयमा गाई÷भैसीको गोबर जाँच गरि किसानहरुलाई आवश्यकिय सुरक्षित पशु उपचार पद्धतिमा टेवा दिने तथा जमिनमा रासायनिक मल विषादीको कम प्रयोग गरि गोवरमल तथा अन्य आर्गनिक मलको प्रयोगले मात्र दिगो कृषि व्यवशाय गर्न सकिने काम तिर अग्रसर वनाउने प्रयास गरिदै आएको छ ।

(१९) यस वर्ष मध्य देखि अचानक देखा परेको विश्व महामारी कोभिड १९ का कारण राज्यले लिएको आर्थिक संकलन निति अनुसार हाम्रो संस्थाले महामारी न्यूनिकरणका निम्ति हल्दिबारी गाउँ पालिकाको राहत कोषमा ३०,१५५/– र प्रदेश सरकारको राहत वितरण कोषमा रु. ५०००/– राहत सहयोग गरेको कुरा अवगत गराउदछु ।

माथी उल्लेखित सवै कामकुराहरु संस्था संचालक समितिको मात्र पहलमा नभई हाम्रा किसान सदस्यहरुको चासो र उत्साहि सहभागि, कृषि ज्ञान केन्द्र झापा, जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र झापा, हल्दिबारी गाउँ पालिका तथा प्रदेश सरकार विराटनगरको साथ सहयोग सल्लाह र सुझावमा यस संस्थाका सल्लाहाकार समितिको सल्लाह, लेखा समितिका साथीहरुको दुरुस्त लेखा परिक्षण, कृषि समितिको पहल, ऋण अनुगमन तथा स्वीकृती समितिबाट पाइएको चित्तबुझ्दो लगानी तथा असूली, पशु श्वास्थ्य कार्यकर्ताको अनुभवि मेहनत एवम् आफ्नो काम, कर्तब्य र दायित्वलाई इमान्दारीसाथ दिन रात नभनि अहोरात्र खट्ने हाम्रा कर्तव्यनिष्ठ प्राविधिक दक्ष , योग्य, अनुभवि तालिम प्राप्त कर्मचारी मित्रहरुको सहयोग, हाम्रो अभिभावकको रुपमा रहेर साना किसान विकास बैंकले यस संस्थालाई विभिन्न सहयोग, निर्देशन, सल्लाह, तालिम र सुझाव दिएर तथा यस संस्थालाई विस्वास गरि बिकास र उन्नतीमा साथ दिदै आउनु भएका हाम्रा आदरणिय सदस्य महानुभावहरुको पनि उतिकै योगदान रहेको छ ।

संस्थामा आ.व.२०७६/०७७ सम्म भए गरेका वित्तिय प्रगति निम्नानुसार रहेको जानकारी गराउदछु ।

क्र.सं. विवरण तथ्याङ्क
१ कूल सदस्य संख्या २४१६ जना
२ समुह संख्या ३०० वटा
३ कूल शेयर पूँजी १,३८,९९,८००/–
४ जगेडाकोष हिसाव १,०९,९२,५०९ /–
५ कुल निक्षेप हिसाव ४,१५,८४,२०३/–
६ कूल वैंक हिसाव ५५,५६,६२२/–
७ नगद हिसाव २,०१,६६९/–
८ गतको बाँकी ल.र.र. ८,२५,९४,७४९/–
८ यस वर्ष कूल ऋण लगानी ९,३५,४२,०८९/–
९ यस वर्ष कूल ऋण असूली ८,३०,७५,९८३/–
१० लगानीमा रहिरहेको रकम ९,३०,६०,८५५/–
११ भा.ना. ऋण ३७,५६,८८६/–
१२ पउनुपर्ने पेश्की हिसाव २९८८५२०/–
१३ अन्य लगानी हिसावहरु २०,३९,२२८/–
१४ वाह््य ऋण (सा.कि.वैंक) ३,५५,८७,५००/–
१५ स्थिर सम्पति ८३,११,१२९/–
१६ मौज्दात सम्पति (व्यापार) ४,७५,६२३/–
१७ अनुदान हिसाव ४२,८२,६०६/–
१८ कूल आम्दानी २,६५,०८,६९७/–
१९ कूल खर्च २,२४,३६,८२८/–
२० हालको नाफा ४०,७१,८६९/–
२१ वर्षभरिको खरिद विक्रि कारोवार १,८७,९४,८६५ /–

प्रश्तावित भावी निति तथा कार्यक्रमहरु

आदरणिय शेयर सदस्य महानुभावहरु संस्थाको वार्षिक योजनामा आधारित भावि निति तथा कार्यक्रमहरुका वारेमा प्रश्तवना पेश गर्न अनुमति चाहान्छु ।

(१) लक्ष्य अनुसार सदस्य विस्तारमा यस वर्ष पुर्णता पाएको भए पनि समूहमा आवद्ध उत्साहि शेयर सदस्यहरु सवै संग कुनै पनि कृषि गतिविधिका कार्यक्रममा सहभागि गराई पारिवारिक आम्दानीमा बृद्धि हुने गरि व्यवशायिक वनाउने लक्ष्य राखिएको छ ।

(२) दुग्ध उत्पादनमा अधिक भन्दा अधिक कृषकहरुलाई सहभागि गराउदै कच्चा दुध खरिद विक्रि मात्र गर्ने नभई संकलित दुधमा विविधिकरण माध्यम द्धारा वजार सम्म पु¥याउने लक्ष्य राखिएको छ ।

(३) मासुजन्य व्यवशाय संचालन गरि व्यवशायिक बन्न चाहाने किसान लक्षित गरि सम्बन्धित क्षेत्र र वजार माग अनुसार साना तथा मझौला खाले मासु विक्रि कक्ष संचालन गर्न इच्छुक व्यवशायी सदस्य संग सहकार्य गरि मासुको वजार व्यवश्थापनमा पहल गरिने छ ।

(४) नगदेवालीलाई प्रोत्साहन दिदै वेमौषमी तरकारी खेति (टनेल खेति) तथा हाम्रो भुगोल अनुसारको विभिन्न जातको मौषमी तरकारी खेति गर्न सदस्यहरुलाई उत्साहित वनाउने खालका कार्यक्रमहरु संचालन गर्ने, यसका लागि आवश्यक सर सहयोग संस्थाद्धारा उपलव्ध गराउने कुरा अवगत गराउन चाहान्छु ।

(५) किसानहरुलाई सधै वर्ष चाहिने चैते धानको विउ, बर्खे धानको विउ, गहुँको विउ तथा मकैको विउ हाल सम्म पर निर्भरमा आयात गरि वितरण गरिदै आएको भए पनि यस वर्ष देखि विउ उत्पादनमा इच्छुक किसानहरुलाई माथि उल्लेखित जातको विउ उत्पादन गर्न जात अनुसारको मूलविउ उत्पादन खेति गर्न आावश्यक सहयोग गरि किसानवबट उत्पादित विउ संस्थाले नै खरिद गरि स्थानिय स्तर मै वितरण गरिने व्यवश्था मिलाइने छ । जसले गर्दा विउ खरिदमा कम मूल्य पर्न जान्छ ।

(६) संस्थाको कार्यक्षेत्र उहि भएपनि कारोवार गर्ने सदस्यहरुमा व्यापक बृद्धि भएकाले सहकारी ऐन नियम तथा स्थानिय सरकारको नियम निर्देशनमा रहेर साविक जलथल गा.वि.स.को वडा नं. २ हाल हल्दिबारी ३ बांगे बजारलाई केन्द्र मानि संस्थाको सेवा केन्द्र संचालन गरिने प्रश्ताव राख्न चाहान्छु ।

(७) निकट भविष्यमा नै हाम्रा किसान सदस्यहरुको अप्ठेरोलाई महशुस गर्दै एक जना कृषि तथा पशु प्राविधिकको पदमा आवश्यक पुर्वाधारहरु तयार गरि खुल्ला प्रतिस्पर्धा द्धारा नियुक्ति गर्ने आवश्यकता महशुस गरेको छ ।

(८) किसान सदस्यहरुवाट उत्पादित तरकारीको वजार व्यवश्थापन गर्न पहल गरिने छ साथै उत्पादित तरकारीलाई लामो समय सम्म भण्डारण गर्न स्थानिय निकाय वा सम्वन्धित निकायको सहयोगमा संस्थाको आफ्नै भवनमा सामान्य शित भण्डार (Normal cooling House) स्थापना गरि हाम्रा सदस्यहरुलाई सेवा दिने लक्ष्य राखिएको छ ।

(९) हुलाकी मार्ग दुग्ध उत्पादन कार्यक्रम संग सम्वन्धित रहेर पुर्व सम्झौतालाई आधार मानि कार्यक्रममा सहभागि रहनु भएका १२० जना किसान सदस्य बाट प्रति सहभागि उत्पादित एक कोरली बाछी अर्काे एक इच्छुक किसान सदस्य लाई हस्तान्तरण गर्ने व्यवश्था रहेकाले सोहि अनुसार गर्दे जाने ध्येय राखिएको छ । (समरण रहोस यो कार्यक्रमको अवधि २०७९ असार सम्ममा हस्तान्तरण कार्यक्रम गरि सक्नु पर्ने व्यवश्था मिलाइने छ ।)

(१०) संस्था द्धारा प्रदान गरिने विभिन्न शिर्षकका ऋणहरु मध्ये लघुकर्जाको साविक व्याज दर १६ प्रतिशत बाट घटाई मिति २०७७ कार्तिक १ गते देखि १५ प्रतिशत मात्र कायम गरिएको छ ।

यस विषयमा वैकको निर्देशन र यहाँहरुको सुझावलाई आधार मानी अझ कम गर्न लक्ष्य राखिएको छ भने अन्य शिर्षकमा भने यथावत् नै कायम गरिएको जानकारी गराउदछु ।

(११) संस्था बाट ऋण लिएर लामो समय सम्म पनि सम्पर्कमा नआउने साथै तिर्नुपर्ने सावा तथा व्याज नबुझाउने तथा पटक पटक ताकेता गर्दा पनि चासो नदेखाउने ऋणी सदस्यहरुको नामावली यस साधारण सभा समाप्त भए लगतै सूचनापाटीमा टांस गरि निजलाई जानकारी गराई असूलि कार्वाहिको काम अगाडि बढाइने छ ।

साथै संस्थाको आन्तरिक लेखा समितिले पटक पटक चेकजाँच गरिएको विल भर्पाइहरु रजिष्टर्ड अडिटर श्री खिवलाल अधिकारी को अधिकारी के एण्ड एसोसियट्स, विर्तामोड नगरपालिका १ झापा प्रमाणपत्र दर्ता नं.१२६६ “ख” एकल फर्म दर्ता नं. ५७१६, पान नं. ३०७३७१०८९ ले तयार पार्नु भएको वित्तिय विवरण प्रतिवेदनको मूल सारांश प्रति यसै साथ संलग्न राखिएको छ ।

अन्त्यमा विश्व अक्रान्त भएको यस्तो महामारीको समयमा पनि संस्थाको निम्तोलाई स्वीकादै संस्था र सदस्य प्रति चासो देखाएर आ आफ्नो सुरक्षा अपनाउदै कठिन अवस्थाको कुनै पनि पर्वाह नगरि यहाँ उपस्थित हुनुहुने सम्पुर्ण उपस्थित महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । साथै मार्ग दर्शक गर्नुहुने तथा शुभ चिन्तक सम्पुर्ण संघ संस्था , निकाय प्रति आभार प्रकट गर्दै यस सभा बाट ओझेल पर्न चाहान्छु ।
जय किसान, जय सहकारी ।

अध्यक्ष
कृष्णमाया गिरी

मनपरे शेयर गरौ ! 

Related post