प्रधानमन्त्रीविरुद्ध लगाएका आरोप पुष्टि गर्न नसके प्रचण्डसँग हिसाबकिताब हुन्छ- उपप्रम पोखरेल

काठमाण्डौं / उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाइएका आरोपहरू पुष्टि गर्न नसके अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसको हिसाब-किताब हुने बताएका छन् ।
आफ्नै कार्यकक्षमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रम पोखरेलले आरोपहरू पुष्टि गर्न नसके आरोप लगाउनेसँग त्यसको हिसाब-किताब हुने बताएका हुन् ।
‘जुन आधारहीन आरोप लागेका छन्, या त त्यसको पुष्टि हुनुपर्छ, नत्र आरोप लगाउनेसँग त्यसको हिसाब-किताब त हुन्छ,’ उपप्रम पोखरेलले भने ।
प्रधानमन्त्रीविरुद्ध आधारहीन आरोप लगाइसकेपछि अब दुईवटा मात्र विकल्प बाँकी रहेको जिकिर उनले गरे ।
‘यसको त दुईवटा मात्र विकल्प हुन्छ । या त पुष्टि हुनुपर्यो, पुष्टि भएन भने आरोप लगाउनेमाथि स्वाभाविक रूपमा प्रश्न त उठ्छ ।’
पोखरेलले सचिवालयमा प्रचण्डले वितरण गरेको आरोपलाई प्रस्ताव भन्न नमिल्ने बताए ।
‘त्यसलाई प्रस्ताव नभनौं, एउटा आरोप पत्र भनौं,’ उनले भने, ‘हाम्रो पार्टीमा प्रस्ताव पेश गर्ने एउटा विधि छ, दुई अध्यक्षको सहमतिमा प्रस्ताव आउनुपर्छ । यसमा सहमति त के कतै छलफल पनि भएको छैन ।’
उनले मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले त्यसको जवाफ दिने बताए ।
‘ती लगाइएका आरोपहरूका बारेमा प्रधानमन्त्रीले आफ्नो तर्फबाट अफिसियल्ली बोल्छु भन्नुभएको छ, त्यसपछि त्यसबारे हामी छलफल गर्छौं,’ उनले भने । लोकान्तर