• January 22, 2021

नेकपाको सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर १६ गते धुम्बाराहीमा बस्ने

 नेकपाको सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर १६ गते धुम्बाराहीमा बस्ने
मनपरे शेयर गरौ ! 


काठमाण्डौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ ।

शनिबार दिउँसो बालुवाटारमा सुरू भएको बैठक सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अब अर्को बैठक मंसिर १६ गते धुम्बाराहीमा बस्ने उनले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा जवाफी प्रतिवेदन पेश गरेका छन् ।

अब बस्ने बैठकमा दुबै अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि छलफल गरेर सुझाव दिइने बताइएको छ ।

आजको बैठकमा बोल्ने सबैले पार्टीमा गम्भीर समस्या आएको तर पार्टी फुटको दिशामा नजाने निष्कर्ष निकालिएको बैठकमा उपस्थित एक सदस्यले बताए ।

बैठकमा दुई अध्यक्ष, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमले बोलेका थिए ।
अघिल्लो बैठक बसेको दश दिनपछि सचिवालय बैठक बालुवाटारमा बसेको हो ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय बढेको विवादका कारण यो बैठकलाई महत्वका साथ हेरिएको थियो ।

अध्यक्ष दाहालले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफ अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा दिने कार्यसूची थियो ।

अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई आरोप पत्र भन्दै ओली पक्षले फिर्ता लिनुपर्ने माग गरेको थियो ।

तर बहुमत सदस्यलाई साथ लिएर दाहालले सचिवालय बैठक बोलाउने तयारी गरेपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी भइ आफूले पनि लिखित प्रस्ताव ल्याउने भन्दै दस दिनको समय माग गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post