राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा झापामा १० हजार मानिस उतार्ने राप्रपाको तयारी, र्यालीको नेतृत्व सांसद लिङदेनले गर्ने

गोपिन पोखरेल–
झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले शनिबार हुने बृहत मोटर तथा मोटर साइकल र्यालीको तयारी पुरा भएको जनाएको छ ।
राप्रपाले मंसीर २० गते राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा झापामा बृहत मोटर तथा मोटरसाइकल र्याली गर्दै छ ।
र्यालीमा ८ हजारभन्दा बढी मोटर साइकल, ५ हजार भन्दा बढी साना गाडि सहभागि हुने राप्रपा झापा जिल्ला सचिव केशव ओझाले जानकारी दिए । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा १० हजार मानिस र्यालीमा उतार्ने दाबी गरेको छ ।
राप्रपा जिल्ला सचिव ओझाका अनुसार पार्टीको तर्फबाट ८ हजार मोटर साइकल र्यालीमा आउने भनेर दर्ता भएका छन् भने पार्टीका बाहेक हिन्दुबादी, राजाबादी, स्वतन्त्र, हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा अकालत गर्ने समूहको र्यालीमा उल्लेख्य सहभागिता रहने छ ।
र्यालीमा सहभागि हुनेको संख्या एकिन नभए पनि १० हजार मान्छे आफ्नो नीजि सवारीसहित सहभागि हुने ओझाको दाबी छ ।
र्यालीमा मुस्लिम संगठनका धर्मगुरुहरु ६० जनाले सहभागिता जनाउने छन् भने तामाङ, राई, लिम्बू, राजवंशी, धिमाल, सन्थाल समूहको तर्फबाट जातिय पहिरनसहितको झाँकी र्यालीमा सहभागि हुनेछन् ।
झापाको १५ वटै पालिकाबाट सहभागिहरु आफ्नै सवारी साधनमा र्यालीमा सहभागि हुन आउने बताइएको छ ।
र्यालीमा शिवसेना नेपाल, महेन्द्र प्रसाईले नेतृत्व गर्ने नेपालका लागि नेपाली अभियान, राजाबादी स्वयंसेवी युवा संस्था लगायत अन्य धेरै धार्मिक तथा राजाबादी संगसंगठनको सहभागिता रहने सचिव ओझाले बताए ।
प्रदर्शनको अग्रपंक्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्व हिन्दु महासंघ, केशर बहादुर विष्टको राष्ट्रिय शक्ति नेपाल, हरिवोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रेस (वीपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस (राष्ट्रवादी) सहभागि हुने बताइएको छ ।
र्यालीमा नेपालको राष्ट्रिय झण्डा, विभिन्न धार्मिक तथा जातिय संघ संस्थाको झण्डासहित सहभागिता हुने छ भने नेपाली कांग्रेस, नेकपा लगायत अन्य पार्टीबाट हिन्दूधर्मको पक्षधरको ऐक्यवद्धता रहने बताइएको छ ।
राप्रपाले आ–आफ्नो राजनीतिक पार्टीको झण्डासहित सहभागि हुन पाउने पनि जनाएको छ ।
र्यालीको काँकरभिट्टामा दिउँसो १ बजे औपचारिक उद्घाटन हुनेछ । औपचारिक उद्घाटन सांसद राजेन्द्र लिङदेनले गर्ने छन् भने उद्घाटन समारोहको अध्यक्षता राप्रपा झापाका अध्यक्ष अम्बर बिष्टले गर्नेछन् ।
र्यालीको व्यवस्थापन, स्वागत मन्तव्य र रुटबारे र्याली व्यवस्थापन समिति संयोजक राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय उपाध्यक्ष धुर्व उप्रेतीले गर्ने बताइएको छ ।
काँकरभिट्टाबाट सुरु भएको र्याली २ बजेसम्ममा बिर्तामोड आइ पुग्ने कार्यक्रम छ । बिर्तामोडको मुक्तिचोकमा कोणसभा गरेर र्याली समापन हुने छ ।
यसअघि बुहत र्याली झापाको दमकसम्म पुग्ने बताइएको थियो तर बर्तमान परिस्थिति र कोरोनाका कारण बिर्तामोडमा समापन गरिने सचिव ओझाले जानकारी दिए ।
दमक र माइपश्चिमका सबै सहभगि काँकरभिट्टामा भेला भएपछि र्याली हिड्ने छ भने र्यालीमा राप्रपा निकट टेम्पो चालक ट्रेड युनियन महासंघ (टे«कन) बाट १०० वटा टेम्पो सहभागि हुने बताइएको छ ।
कोभिडलाई मध्यनजर गरेर एकाघर परिवारका सदस्यलाई मात्र मोटर साइकलमा सहभागि हुन, सुरक्षा मापदण्डको पालना गरि र्याली गर्ने तयारी गरिएको राप्रपा झापाले जनाएको छ ।
स्वस्फूर्त रूपमा राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भईरहेको र्यालीप्रति ऐक्यबद्धता जनाउँदै झापामा पनि मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गर्ने राप्रपा झापाले निर्णय गरेको झापा क्षेत्र नं ३ का सघीय सांसद राजेन्द्र लिङदेनले बताएका छन् ।
झापामा राप्रपाले यसको अगुवाई गरेको छ भने र्यालीको कमाण्ड सांसद लिङदेनले सम्हालेका छन् ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजिविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न र्यालीको आयोजना गर्न लागिएको हो ।
राप्रपाले र्यालीमा समान विचार राख्ने सबै व्यक्ति, संगठन र पार्टीलाई राष्ट्रिय झण्डा, आ–आफ्नो संस्था, संगठन र पार्टीको झण्डासहित सहभागी हुन अपिल गरेको छ ।