• August 4, 2021

हल्दिबारीका पत्रकार संगठित, हल्दिबारी प्रेस क्लव गठन

 हल्दिबारीका पत्रकार संगठित, हल्दिबारी प्रेस क्लव गठन
मनपरे शेयर गरौ ! 


हल्दिबारी / हल्दिबारी गाउँपालिकाका पत्रकार संगठित भएका छन् । आज हल्दिबारी गाउँपालिकाको कार्यालयमा आयोजित भेलाले हल्दिबारी प्रेस क्लव गठनका लागि तदर्थ समिति गठन गरेको छ ।

हल्दिबारी गाउँपालिकामा स्थायी बसोबास गरि विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुलाई संगठित गर्ने उदेश्यले प्रेस क्लव गठन गर्न लागिएको हो ।

हल्दिबारीका पत्रकारहरुको भेलाले हल्दिबारी डटकमका सम्पादक नेत्र बिक्रम विमलीलाई प्रेस क्लव तदर्थ समितिको संयोजक तोकेको छ ।

समितिको सदस्यमा तहल्काखबर डटकमका सम्पादक गोपिन पोखरेल, हेमन्त मैनाली, सुबास गौतम, याम दंगाल, कमल मगर, देबीका अधिकारी, शोभा थापा, दिपेन्द्र कार्की र चेतन लामिछाने चयन भएका छन् ।

तदर्थ समितिको सदस्य सचिवमा हैकमराज घिसिङलाई जिम्मेवारी तोकेको छ ।

तदर्थ समितिलाई आवश्यकता अनुसार अन्य सदस्य थप गर्दै बिधान तयार गर्ने र बिधिवत हल्दिबारी प्रेस क्लव दर्ता गर्ने जिम्मेवारी दिइएको छ ।

नवगठित तदर्थ समितिले चाँडै बिधान तयार गरि प्रेस क्लव गठन गर्नेछ ।

क्लवको सल्लाहकारमा लेखनाथ परदेशी, नरेश चुडाल र मनकुमार शर्मालाई चयन गरेको छ ।
लेखनाथ परदेशीको सभापतित्वमा आयोजित भेलाको प्रमुख आतिथ्य गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले गरेका थिए ।

प्रमुख अतिथि गिरीले हल्दिबारीमा रहेर पत्रकारीता गर्ने पत्रकार संगठित हुनु अत्यन्तै सुखत विषय रहेको बताए ।

उनले सञ्चारकर्मीले तथ्य परक सहि सूचना संम्प्रेषण गर्नु पर्ने बताउँदै प्रेस क्लवले समग्र हल्दिबारीका पत्रकारको हितमा काम गर्न सुझाव दिए ।

स्थानीय सञ्चारकर्मी एकजुट हँदा गाउँपालिकालाई पनि सहयोग पुग्ने बताउँदै उपाध्यक्ष गिरीले प्रेस क्लवका लागि आवश्यक सहयोग गर्न गाउँपालिका तत्पर रहेको पनि जानकारी दिए ।

शुभकामना मन्तव्य राख्दै कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले प्रेस क्लव गठन गर्नु मात्रै सबै कुरा नभएको बताउँदै पत्रकारले बदलिँदो प्रबिधि अनुसार आफूलाई परिस्कृत गर्दै लानु पर्ने आवश्यकता औल्याए ।

अहिलेको सामाजिक सञ्जालले परम्परागत पत्रकारीतालाई धरासायी बनाएको बताउँदै अध्यक्ष सापकोटाले पत्रकारले आफूलाई प्रविधि अनुसार ढाल्न नसके पलायन हुनु पर्ने अवस्था आउने तर्फ संकेत गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हल्दिबारी इन्चार्ज धर्म शिवाकोटी, नेपाली कांग्रेस कार्यदल सदस्य तुलसी ओली, हल्दिबारी गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले प्रेस क्लवको सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।

गोपिन पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेत्र बिमलीले गरेका थिए भने कार्यक्रममा हल्दीबारीका पूर्व गाबिस अध्यक्ष मोहनचन्द्र रेग्मी लगायत स्थानीय राजनीतिक दल र सहकारीकर्मीको उपस्थिति थियो ।

तदर्थ समितिको गठनको सहजीकरण सञ्चार उद्यमी नरेश चुडालले गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post