नेकपाको दाहाल नेपाल समूहले निर्वाचन आयोगमा बुझायो निर्णय

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड– माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ ।
बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई निर्णय बुझाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेको लगायतका निर्णयहरु सो समूहले गरेको थियो ।
नेता पाण्डेले आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको बताएका छन् । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश भएको बताइएको छ ।
बुधबार बसेको प्रचण्ड–माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निश्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।