• November 28, 2021

जिल्ला सहकारी संघ झापामा मुख्य पाँच पदाधिकारी निर्विरोध निर्वाचित, केहि पदमा चुनावको संभावना

 जिल्ला सहकारी संघ झापामा मुख्य पाँच पदाधिकारी निर्विरोध निर्वाचित, केहि पदमा चुनावको संभावना
मनपरे शेयर गरौ ! 


बिर्तामोड / जिल्ला सहकारी संघ झापाको चारवर्षे कार्यकालका लागि अध्यक्ष र सहसचिवसम्म पाँच जना निर्बिरोध निर्वाचित भएका छन् ।

आगामी माघ १७ गते हुने निर्वाचनका लागि उम्मेदवारको दाबी विरोध पछिको नामावली प्रकाशन अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव, सहसचिव र लेखा समिति संयोजक निर्बिरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका सदस्य खोमप्रसाद बगालेका अनुसार अन्य केही क्षेत्रीय सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।

संघको चारवर्षे कार्यकालका लागि मनोनयन पत्र दर्ता गरि सकिएको हो । जसअनुसार संघको अध्यक्षमा पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाका गणेश ढकाल र वरिष्ठ उपाध्यक्षमा दोस्रो कार्यकालका लागि सहारा नेपाल साकोसका महेन्द्रकुमार गिरी निर्विरोध निर्वाचित भएका हुन् ।

संघको सचिवमा हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि बिर्तामोडका भवानी प्रसाद दंगाल, सहसचिवमा जयनेपाल बचत तथा ऋण सहकारी संस्थाका कृष्णप्रसाद मिश्र, लेखा सुपरीवेक्षण समिति संयोजकमा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्था दमकका चूडामणि ओझा निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्ष पदका लागि मेची कृषक बहुमुखी सहकारीका दुर्गाप्रसाद सापकोटा र नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्था दमकका प्रेमकुमार कोइरालाको नाम मनोनयनमा परेको छ ।

एक महिला उपाध्यक्ष पदका लागि महालक्ष्मी कृषि सहकारी संस्था लि.मेचीनगरबाट दुर्गा खतिवडा, उद्यम विकास बचत तथा ऋण सहकारी संस्था दमकबाट चन्द्रकुमारी खड्का र सृजना महिला बहुउद्देश्यीय सहकारी संस्था कनकाईबाट चम्पादेवी खनाल सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

संघको कोषाध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा अर्जुन दंगाल, खडानन्द गुरागाई र भुपाल बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी कार्यकालका लागि खुल्ला सदस्य चारजना महिलासहित ७ जनाका लागि नारायणप्रसाद गौतम, ढुण्डीराज गुरागाईं, कृष्ण पौडेल, डम्बर बिमली र मोहन शिवाकोटीले मनोनयन दर्ता गराएको बताइएको छ ।

यस्तै चन्द्रकला भण्डारी, विन्दाकुमारी थापा, चन्द्रकला अधिकारी, पुष्पा उप्रेती र गीता अधिकारीले पनि उम्मेदवारी दिएका छन् ।

क्षेत्रीय सदस्यका रुपमा क्षेत्र नं. १ बाट देवीमाया अधिकारी, क्षेत्र नं. ३ नवराज भट्टराई र क्षेत्र नं. ५ का लागि नारायणप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

क्षेत्र नं. २ का लागि ताराप्रसाद चापागाई र नारायणप्रसाद बजगाईले उम्मेदवारी दर्ता गराएका छन् भने ४ का लागि तिलकप्रसाद राजवंशीले उम्मेदवारी दिएका छन् ।

समितिको दुईजना सदस्य पदका लागि प्रेमसागर सापकोटा, राजेन्द्रप्रसाद रिजाल र सन्देश मल्लले लेखा सुपरीवेक्षण समिति सदस्य पदमा उम्मेदवारी दिएको बताएइको छ ।

संघको चुनावका लागि सबै पदमा सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ । सबै पदमा निर्विरोध नभए माघ १७ गते मतदान मार्फत् संघको नेतृत्व चयन हुनेछ ।

मनपरे शेयर गरौ ! 

Related post