• August 4, 2021

झापा जिल्ला सहकारी संघका पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ

 झापा जिल्ला सहकारी संघका पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ
मनपरे शेयर गरौ ! 


बिर्तामोड / झापा जिल्ला सहकारी संघको नेतृत्व आगामी चारवर्षका लागि हस्तान्तरण भएको छ ।

आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा नयाँ निर्वाचित नेतृत्वलाई पद हस्तान्तरण तथा सपथग्रहण सम्पन्न भएको हो ।


निर्वाचन समितिका संयोजक देबेन्द्र भण्डारीले नवनियुक्त जिल्ला नेतृत्वलाई पद तथा गोपनियताको सपथ गराएका थिए । जिल्ला संघको निर्वाचनमा कोषाध्यक्ष बाहेकका सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।


संघको अध्यक्षमा गाणेश ढकाल, बरिष्ठ उपाध्यक्षमा महेन्द्र गिरी, उपाध्यक्ष प्रेमप्रसाद कोइराला, महिला उपाध्यक्ष चम्पादेबी खनाल सुबेदी, सचिवमा भवानीप्रसाद दंगाल र सहसचिवमा कृष्णप्रसाद मिश्र निर्वाचित भएका छन् ।

सर्वसम्मत हुन नसकेपछि कोषाध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो । कोषाध्यक्षमा अर्जुन दंगाल नर्वाचित भएका थिए । सो पदमा दंगालसहित खडानन्द गुरागाई र भुपाल बस्नेतले उम्मेदवारी दर्ता गराएका थिए ।


त्यस्तै, खुल्ला सदस्यमा नारायणप्रसाद गौतम, ढुण्डीराज गुरागाई, कृष्ण पौडेल, महिला सदस्य चन्द्रकला अधिकारी, चन्द्रकला भण्डारी, बिन्दाकुमारी थापा, पुष्पा उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।


क्षेत्रगत आधारमा १ नम्बर क्षेत्रिय सदस्य देबीमाया अधिकारी, २ नम्बर क्षेत्रीय सदस्य केशव बस्नेत, ३ नम्बर क्षेत्रीय सदस्य नवराज भट्टराई, ४ नम्बर क्षेत्रीय सदस्य तिलकप्रसाद राजवंशी र क्षेत्र नम्बर ५ बाट नारायणप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनबाट लेखा संयोजकमा चुडामणी ओझा र प्रेमसागर सापकोटा सर्बसम्मत निर्वाचित भएका छन् ।


जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको सभापतित्वमा आयोजित पद हस्तान्तरण कार्यक्रमको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले उद्घाटन गरेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि पोखरेलले झापामा रहेका सबै संघहरु सक्रिय गराउन र त्यसको नेतृत्व जिल्ला संघले गर्नु सुझाव दिए ।


नेपालभर ७३ लाख सदस्य सहकारीको सदस्य रहेको तथ्याङक प्रस्तुत गर्दै पोखरेलले सबै सदस्य संस्थालाई बलियो बनाउन जिल्ला संघ प्रबिधि मैत्री हुनु पर्नेमा जोड दिए ।


समापन मन्तब्य राख्दै संघका अध्यक्ष गणेश ढकालले ४ वर्षे कार्यकालमा संघको भवन निर्माण, शेयर बृद्धि गर्ने, सहकारीको पुँजी बृद्धि गर्ने लगायतका चारवटा काम प्रखुखताका साथ सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।


कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, संघका पूर्व सञ्चालक दुर्गा सापकोटा, १ नम्बर प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, जिल्ला बचत संघका घनश्याम अधिकारी, कृषिकेन्द संघ उपाध्यक्ष मीनाकुमारी ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


कार्यक्रममा निवर्तमान सञ्चालकलाई कदरपत्र र निर्वाचन समितिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालक निर्वतमान सचिव युवराज ढकाल र नवनियुक्त सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post