• August 4, 2021

बिर्तामोडको फोहर व्यवस्थापनको जिम्मा निराकार कम्पनीलाई

 बिर्तामोडको फोहर व्यवस्थापनको जिम्मा निराकार कम्पनीलाई
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड नगरपालिकाको फोहर व्यवस्थापनको जिम्मा निराकार सरसफाई सेवा प्रालिले पाएको छ ।


काठमाण्डौको कागेश्वरी नगरपालिका–८ मनोहराको सो कम्पनी र बिर्तामोड नगरपालिका बीच सोमबार बिर्तामोड नगरपालिकाको कार्यालयमा तीनवर्षका लागि फोहर व्यवस्थापनको सम्झौता भएको हो ।


सम्झौता अनुसार निरकारले असार १ गतेदेखि बिर्तामोडको फोहर व्यवस्थापनको काम थाल्ने छ ।
बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले फोहर व्यवस्थापनमा जुनसुकै संस्थासँग सम्झौता गरेपनि जबसम्म नगरबासीमा सरसफाई सम्बन्धि चेतना आउँदैन तबसम्म फोहर व्यवस्थापन सम्भव नहुने बताए ।


नगरपालिकाको फोहर व्यवस्थापनका लागि पहिलो पटक मनोहरासँग सम्झैता गर्न सफल भएको भन्दै नगरप्रमुख शिवाकोटीले खुसी प्रकट गरे । नगरप्रमुख शिवाकोटीले यो कार्यमा सबै नगरबासीको सहयोग रहने अपेक्षा गरे ।


निराकारलाई फोहर व्यवस्थापनको जिम्मा दिन १० लाख रुपैयाँ धरौटीमा तीनवर्षका लागि सम्झौता गरिएको बिर्तामोड नगरपालिकाका प्रशासकीय अधिकृत गणेश दाहालले जानकारी दिए ।

बिर्तामोडको फोहर व्यवस्थापनमा नगरपालिका जागरुक भएको भन्दै अधिकृत दाहालले बिर्तामोडबासीको समृद्धी र दिगो विकासका लागि यो कार्यक्रम लक्षित रहेको दाबी गरे ।


निराकार कम्पनीका प्रमुख रबिन भट्टराईले मंगलबारदेखि नै सरसफाईको काम शुरु हुने जानकारी दिए ।


सम्झैतापत्र हस्तान्तरण कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बिर्तामोड नगरपालिका– ६ नम्बर वडाअध्यक्ष सूर्यप्रसाद कन्दङवा, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना लगायतले मन्तव्य राखेका थिए ।


तोकेको मापदण्ड पूरा गरेपछि निराकार छनोट भएको जनाइएको छ । त्यसका लागि बिर्तामोड नगरपालिकाले दुईपटक सार्वजनिक सूचना गरेको थियो। पहिलो पटकको सूचनामा निराकारसहित दुई कम्पनीका निवेदन परेका थिए।


नगरपालिकाको फोहोर व्यवस्थापनमा अहिले प्रयोग गरिरहेको चार वटा ट्याक्टर निराकारले प्रयोग गर्न पाउँने छ । फोहोर व्यवस्थापनमा अहिले खटिएका १९ कर्मचारीको मासिक तलब भुक्तानी गर्ने दायित्व पनि निराकारको हुनेछ। त्यसमा चार ट्याक्टर चालक र १४ अन्य कर्मचारी रहेका छन् ।


फोहोरमैला व्यवस्थापन गरेबापत नगरबासीसँग सरसफाइ मासिक शुल्क लिनेछ। अढाइ तलासम्म घर भएको एक परिवारले मासिक १९० रुपैयाँ तिर्नुपर्नेछ।


तला बढी भए प्रतितला थप ५० रुपैयाँ तिर्नु पर्नेछ। सबैभन्दा बढी सिनेमा हल र वधशालासहितको मासु पसलले प्रतिट्रक २५ सयसम्म तिर्नु पर्नेछ।


पार्टी प्यालेस, भोज आयोजना स्थललले प्रतिट्रक २९ सयसम्म तिर्नु पर्ने नियम बनाइएको छ। नगरबासीले अनिवार्य सदस्य बन्नु पर्ने, सदस्य नबन्ने व्यक्ति वा संस्थाले उत्सर्जन गरेको फोहोर निराकारले व्यवस्थापन नगर्ने जनाइएको छ।

मनपरे शेयर गरौ ! 

Related post