• November 28, 2021

बिर्तामोड नगरपालिकाद्वारा नगरका अगुवा कृषकलाई कृषि औजार वितरण

 बिर्तामोड नगरपालिकाद्वारा नगरका अगुवा कृषकलाई कृषि औजार वितरण
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड नगरपालिकाले नगरका अगुवा कृषकहरुलाई कृषि औजार वितरण गरेको छ ।
नगरपालिकाले एक कार्यक्रमका बीच बिहीबार नगरपालिका र कृषक समुहको साझेदारीमा नगरका १० वटा वडाका कृषकलाई कृषि सामग्रीका साथै उन्नत जातको बोयर बोका हस्तान्तरण गरेको हो ।


नगरपालिकाको कृषि तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष ७७ /७८ को स्वीकृत कार्यक्रम अनुसार कृषकलाई मध्ये बर्खामा सामाग्री हस्तान्तरण गरिएको हो ।


कार्यक्रममा नगरका ४४ जना कृषकलाई कुटी काट्ने मेसिन, विभिन्न कृषक समूहका ६० जना कृषकलाई कृषि सामग्री, ४ जना कृषक सदस्यलाई ४ वटा ब्याडको बोयर जातको बोका र बिर्तामामोड कृषि तथा पशुपालन समूहलाई हार्भेस्टर( घाँस काट्ने मेसिन) हस्तान्तरण गरियो ।


पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७७–७८को स्वीकृत कार्यक्रम अनुसार श्रीजंघा बाख्रा पालन समुह बिर्तामोड ७,लखिबारी युवा बाख्रापालन कृषक समुह बिर्तामोड ९, बद्रीवाडी बाख्रापालन कृषक समुह बिर्तामोड ९ र नयाँ नमुना बाख्रापालन कृषक समुह बिर्तामोड ८लाई बोका वितरण गरीएको हो ।


यसैगरी सोही कार्यक्रम अन्तर्गत बिर्तामोड कृषि तथा पशुपालन समुह बिर्तामोड ७ लाई साइलेज मेशीन हारवेस्टर हस्तान्तरण गरीएको छ ।

व्यवसाियक कृषकहरुको लागि पशुआहार व्यवस्थापन गर्ने उदेश्यले १० लाख ५० हजार रुपैयाँ मुल्य बराबरको मेशिन हस्तान्तरण गरीएको हो ।

जसमा नगरपालिकाको ८० प्रतिशत र बिर्तामोड कृषि तथा पशुपालन समुह समुहको २० प्रतिशत लगानी रहेको छ ।

बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा ४४ जना कृषकहरुको लागि च्यापकटर (कुटी काट्ने मेशिन) वितरण गरीएको हो ।

यस्तै नगरपालिकाले तरकारी उत्पादन गर्ने नगरका १० वटै वडाका ६० जना व्यवसायीक कृषकहरुको लागि स्पेयर ट्याँकी,अर्गानिक विषादी लगायतका विभिन्न सामाग्रीहरु समेत वितरण गरेको छ ।

२ लाख ४० हजार रुपैयाँ बराबरको ४ वटा बोयर बोका, ५ लाख ६ हजार रुपैयाँ बराबरको कुटी काट्ने मेसिन, १० लाख ५० हजार रुपैयाँको घाँस काट्ने मसिन हस्तान्तरण गरेको नगरको कृषि शाखाले जनाएको छ ।


कार्यक्रममा उपस्थित कृषक तथा कृषक समूहलाई नगरपालिकाका प्रमुख धुर्वकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईले सामग्री प्रदान गरेका थिए ।

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख शिवाकोटीले जमिनको उर्वरा शक्तिमा ह्रास आएकाले उत्पादन बढाउन कृषकलाई तत्कालै कृषि चुन, नीमको पात, गड्यौला मल लगायत अर्गानिक मल वितरण गर्न लागेको जानकारी दिए ।

नगरप्रमुख शिवाकोटीले सहयोगी संस्था सहारा नेपाल प्रति धन्यवाद ज्ञापन गरे । सहारा नेपाल कृषक तथा विपन्नहरुको लागि सहारा बनेको भन्दै उनले आगामी आर्थीक वर्षमा पनि सहयोग गर्ने प्रतिवद्वता जनाएकोमा सहारा नेपाल प्रति उच्च सम्मान व्यक्त गरे ।


नगरले यस अघि पनि विभिन्न कृषक समुह मार्फत गोठ सुधार कार्यक्रम सञ्चालन, घाँस काट्ने मेसिन, पावर टिलर हस्तान्तरण गरेको नगर प्रमुख शिवाकोटीले बताए ।


उपप्रमुख प्रसाईले सहारा नेपालसँगको साझेदारीमा नगरले कृषि, पशुपालन, जनता आवास कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन ।

कार्यक्रममा सहयोगी संस्था सहारा नेपाल साकोसका सहसचिव ज्ञानुनाथ मैनालीले कार्यक्रम सफल हुनुमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले मेहेनत गरेको बताए ।

उनले नगरपालिकासंग सहारा नेपालको टिम पनि संगसंगै लागेर विपन्न वर्गका ग्रामीण क्षेत्रमा रहेका किसानहरुलाई थोरै भएपनि राहत पुगोस् र उत्पादन मुलककाममा आयात वृद्वी होस् भन्ने अभिप्रायले विगत देखि अहिलेसम्म गर्दै आएको बताए ।

कार्यक्रममा बिर्तामोड- ९ की वडाअध्यक्ष पवित्रा पाठक,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शाखा अधिकृत देवराज कार्की,कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरीया,पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल,प्राविधिक विष्णुप्रसाद भट्टराई,सहारा नेपाल साकोसका शंकर रिजाल लगायत जनप्रतिनिधि तथा कृषकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले पनि नगरपालिकाको कार्यक्रममा सहारा नेपालले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

मनपरे शेयर गरौ ! 

Related post