• November 28, 2021

समाचार टिप्पणी : एमाले बिर्तामोड नगर अधिवेशन, को बन्ला नगर अध्यक्ष ?

 समाचार टिप्पणी : एमाले बिर्तामोड नगर अधिवेशन, को बन्ला नगर अध्यक्ष ?
मनपरे शेयर गरौ ! 

झापा / नेकपा एमालेको बिर्तामोड नगर अधिवेशनको सरगर्मी शुरु भएको छ । निक्कै लामो समयपछि बिर्तामोड नगरले एमालेको नयाँ नगर नेतृत्व प्राप्त गर्दै छ ।

यो अधिवेशनमा एमालेको युवा नेतृत्वको विकास भएसँगै नगर अध्यक्षमा धेरै आकांक्षीहरुले आफ्नो दाबी प्रस्तुत गरेका छन् । लामो समयको विवादपछि नेकपा एमालेबाट चोइटिएर माधव नेपाल पक्ष बाहिरिएपछि पहिलो पटक देशभर एमालेको वडा अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको दशौं महाधिवेशन अन्तर्गत कात्तिक ६ गते सम्पन्न वडा अधिवेशनमा बिर्तामोडका दशवटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा अधिवेशनले यहि कार्तिक ९ गते हुने नगर अधिवेशनका लागि प्रतिनिधी समेत चयन गरिसकेको अवस्था छ ।


नगर अधिवेशनका लागि दुई हजार भन्दा बढी पार्टी सदस्य भित्रबाट ४ सय भन्दा बढी अधिवेशन प्रतिनिधि चयन भएको नगर कमिटीका कार्यालय सचिव दुर्गा सिग्देलले बताए ।
नेकपा एमालेको वडा अधिवेशन सर्वसम्मत सम्पन्न भएपछि नगर अध्यक्षका प्रत्यासीहरु मध्ये कसको पल्ला भारी हुने भन्ने लेखाजोखा शुरु भएको छ ।


नगर कमिटी अध्यक्षका लागि हालका कार्यबाहक अध्यक्ष नन्दलाल खरेल, सचिव नगेन्द्र संग्रौला, उपसचिव कृष्णप्रसाद मिश्र, व्यवसायी तथा युवा नेता सुबास भट्टराई प्रत्यासी रहेको बुझिएको छ । तत्कालिन नगर अध्यक्ष ज्ञानुराम प्रसाईको निधनपछि बिर्तामोड नगर कमिटी नेतृत्व बिहीन छ ।


नगर कमिटी अध्यक्षका प्रत्यासीहरु मध्ये हालका कार्यवाहक अध्यक्ष खरेल, सचिव संग्रौला, उपसचिव मिश्र, बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनमा व्यवसायीको तर्फबाट उम्मेद्वारी दिएका युवा नेता भट्टराईका बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।


यता नगर कमिटीका अध्यक्ष प्रसाईको निधनपछि कार्यवाहक अध्यक्ष बनेका खरेलले आफुले स्वतः अध्यक्ष पाउनुपर्ने दाबी गरेका छन् । उनी विगतमा बिर्तामोड वडा नम्बर ४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार हुँदा झिनो मतले पराजित भएका थिए । खरेल फेरी पनि वडा अध्यक्षको उम्मेद्वारको दाबेदार रहेको बताइएको छ ।


वडा नम्बर २ का वर्तमान वडाध्यक्ष एवम् नगर सचिव नगेन्द्र संग्रौला आफूले जिल्ला कमिटीको समेत अनुभव संगाली सकेको हुँदा आफू नै अध्यक्षको दाबेदार रहेको बताउँदै आएका छन् ।
उनले बिर्तामोड नगरपालिकाको आगामी मेयरको समेत आफू उमेदवार रहेको बताउने गरेका छन् ।
यता बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनमा महासचिव र अध्यक्षमा उम्मेद्वारी दिएर पराजित सुबास भट्टराई नगर कमिटी अध्यक्षका लागि आफू भन्दा सिनियर नेतृत्वलाई टक्कर दिँदै अगाडि उदाएका छन् ।


पार्टीको आन्तरिक किचलोको अवस्थामा तत्कालिन नगर अध्यक्ष ज्ञानुराम प्रसाई बिरुद्ध बनेको समानान्तर नगर कमिटीका अध्यक्ष मेची क्याम्पसका पूर्व प्राध्यापक उमानाथ ओलीले पनि नगर कमिटीको अध्यक्ष आफू हुनुपर्ने दाबी प्रस्तुत गरेको स्रोतले बताएको छ ।
ओलीले पनि सन्निकट रहेको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखकै दाबेदारका लागि नगर अध्यक्षमा दाबी गरेको बुझिएको छ ।


एता उपसचिव मिश्रले पनि नगर कमिटीको अध्यक्षमा आफ्नो पनि दाबी रहेको बताउँदै आएका छन् । नगर अध्यक्षका प्रत्यासीमध्ये उपसचिव मिश्रले तुलनात्मक रुपमा आफूलाई सैद्धान्तिक वैचारिक र रणनीतिक क्षमता भएको दाबी गर्दै आएका छन् ।

मिश्रलाई हिजो नेकपा एमालेको विभाजनको पक्षधरसँग रहेको भन्ने आरोप लगाउँदै अध्यक्ष दिनु हुँदैन भन्ने चर्चा व्यापक रहेको पाइएको छ ।


विगतमा पार्टीमा फरकमत राख्ने मिश्र जस्ता कार्यकर्ता र विगतमा पार्टीले गरेको निर्णयका पक्षमा निरन्तर लागि रहने कार्यकर्तालाई नेकपा एमालेले कसरी मूल्यांकन गर्छ यो त निर्वाचन परिणामले नै बताउला ।

पार्टीले यी विषयलाई सम्बोधन गरेर अधिवेशनमा सर्वसम्मत नेतृत्व दिएको खण्डमा नेकपा एमालेको आन्तरिक एकता मजबुत भएर जाने जानकारहरु बताउँछन् ।


यस्तै माथिल्लो कमिटीका भिष्मराज खरेलले पनि नगर कमिटीको अध्यक्ष आफूलाई बनाइनुपर्ने भन्दै लबिङ सुरु गरेको बुझिएको छ ।


झापा क्षेत्र नं २ का प्रदेश सभासद एकराज कार्कीले बिर्तामोड नगर अधिवेशनका बारेमा तहल्का खबरले सोधेको प्रश्नमा पार्टीले नगर कमिटीको नेतृत्व सकेसम्म सर्वसम्मत चयन गर्ने र त्यसका लागि छलफल भइरहेको जानकारी दिए ।

सभासद् कार्कीले भने, ‘अहिले नगर अध्यक्षका लागि ८/९ जनाले दाबी गरेको अवस्था छ, उहाँहरु बीचमा छलफल गरि सहमतिमा पार्टीले योग्य नेतृत्व छनोट गर्ने छ । सबैले योग्यता अनुसार विभिन्न ठाउँमा जिम्मेवारी पाउनु हुनेछ ।’


नेकपा एमालेले स्थानीय तहका कमिटीको निर्वाचनमा एकता प्रक्रियामा आएका माओवादी तर्फका कार्यकर्ता, एमालेमै रहेका हिजोको आन्तरिक विवादमा एक अर्को पक्षमा बाँडिएका कार्यकर्ताहरुलाई कसरी व्यवस्थापन गर्दै लैजान्छ त्यो त आगामी नगर अधिवेशनको परिणामले नै देखाउनेछ ।

मनपरे शेयर गरौ ! 

Related post