• January 18, 2022

राप्रपामा नयाँ युगको शुरुवात : नेतृत्वमा झापाली नेता राजेन्द्र लिङदेन

 राप्रपामा नयाँ युगको शुरुवात : नेतृत्वमा झापाली नेता राजेन्द्र लिङदेन
मनपरे शेयर गरौ ! 

झापा / अन्तत: राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष पदमा झापा हल्दिबारीका राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।


लिङ्देनको विजयले झापाले फेरी अर्को लोकप्रिय र विकासप्रेमी नयाँ नेतृत्व जन्माएको छ । लामो समयदेखि राप्रपाको राजनीतिमा रहेका लिङ्देनले पार्टीमा नेतृत्व परिवर्तनको मुद्दालाई दरिलो गरि उठाउँदै आएका थिए ।


राप्रपाको अध्यक्ष पदमा विजयी नेपाली राजनीतिको शिर्ष स्थानमा पुग्न सफल झापा क्षेत्र नं ३ का सांसद लिङदेन झापा हल्दिबारीका स्थायी बासिन्दा हुन् । लिङ्देनको विजयसँगै झापा नेपाली राजनीतिमा फेरि एकपटक चर्चामा आएको छ ।


युवाको नेतृत्व गर्दै वषौंदेखि राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सफल नेता कमल थापालाई लिङ्देनले सजिलै पराजित गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

विगतमा कमल थापा निकट भएर काम गरेका लिङ्देनले यसपटक भने थापाविरुद्ध नै अध्यक्षमा प्रतिस्पर्धा गर्दै विजय भएका हुन् ।


वि.सं. २०३६ सालमा विद्यार्थी जीवनबाट राजनीति सुरुवात गरेका लिङ्देन २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका लिङ्देन २०४८ सालमा राप्रपाको विद्यार्थी संगठनको संस्थापक केन्द्रीय अध्यक्ष बनेका थिए ।


पिता मानप्रसाद र माता मनकुमारीका छोरा लिङ्देन राप्रपाको स्थापनाकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आए ।वडा तहको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटक वडाध्यक्ष भएका लिङदेन राजनीतिमा अनेकौँ दुःख र कष्ट भोग्न बाध्य भए ।


२०६१ सालमा झापाको जिविस सभापति छँदा उनको घरमा माओवादीले आगो लगाए । यति मात्रै होइन, उनले सञ्चालन गरेको होटलमा पनि आगजनी गरिएको थियो ।


राजाको प्रत्यक्ष शासनकालमा दुई कार्यकाल गरी १४ महिना जिविस सभापति बनेका लिङदेन दोस्रो जनआन्दोलनपछि हटाइएका थिए ।


जिविस सभापति हुँदा दक्षिणी झापाको विकासमा उनले अतुलनीय योगदान पु¥याएका थिए । त्यतिबेला उनी सभापति छँदा गरेका विकास निर्माणका कामहरु दक्षिणी झापाका बासिन्दाले अझै पनि चर्चा गर्छन् ।

लिङ्देन पार्टीमा मात्र हैन संसदीय निर्वाचनमा पनि सफल छन् । पार्टी सबैतिर हारेर एक सिटमा खुम्चिँदा लिङ्देनले कांग्रेसका प्रभावशाली नेता सिटौलालाई हराएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेता हुन् ।


त्यति मात्र हैन राप्रपा देशभर खुम्चिँदा झापामा भने सुधारिएको छ । १५ पालिकामध्ये कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपाले जितेको छ । यो लिङ्देनकै मिहिनेत हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकप्रिय नेता राजेन्द्र लिङदेनले ३१ वर्षदेखि राप्रपामा जकडिएर रहेको गुटको अन्त्य गर्ने उद्घोष गर्दै उम्मेद्वारी दिएका थिए ।


लिङदेनले पार्टीको अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै राप्रपाका कार्यकर्तालाई यो एस्को मान्छे त्यो एस्को मान्छे भन्ने दागबाट मुक्त गर्न चाहेको बताएका छन् ।


राप्रपा नेता धवल शमशेर राणाले अध्यक्षका लागि गरेको प्रस्ताव स्विकार गर्दै लिङदेनले आफूले राप्रपाका आम नेता कार्यकर्ताको शीर माथि यो पशुपति शमशेरको मान्छे, यो कमल थापाको मान्छे, यो डा.लोहनीको मान्छे भन्ने दाग मेटाउने दाबी छ।

अनेकौं चुनौतीका बीच अध्यक्ष पदमा निर्वाचित लिङदेनका लागि अबको कार्यकाल त्यति सहज भने छैन । चुनौतीलाई अवसरमा बदल्दै पार्टी बाहिर रहेका सनातन हिन्दु धर्म र राजसंस्थाको आवश्यकता महशुस गर्ने अनेकौं समूहलाई एक ठाँउमा गोलबद्ध गर्नुपर्ने आवश्यकता उनका सामु छ ।


राप्रपाको नेतृत्व परिवर्तनको मुद्दा जोड्दार रुपमा उठेपछि आफ्नो उम्मेद्वारी दिएका राप्रपाका लोकप्रिय नेता लिङदेनले अध्यक्षमा जीत हासिल गरिछाडे ।

पार्टीलाई पुरानै लयमा फर्काउनमा आफूले नेतृत्व लिएको बताउँदै आएका छन्, लिङ्देन । उनले यो विद्रोह नभई बाध्यात्मक अवस्था भएको बताउँदै आएका छन् ।


अध्यक्षमा राजेन्द्र लिङदेनले जित हासिल गर्दा पदाधिकारीतर्फ भने कमल थापा पक्षधरहरु धेरै निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा मिश्रित परिणाम आएको छ ।

पुरुष तथा महिला केन्द्रीय सदस्यको खुल्ला प्रतिस्पर्धाबाट ५७ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये डा. राजेश गिरीलाई सबैभन्दा लोकप्रिय मत प्राप्त भएको छ । उनले २२५८ भोट ल्याएका छन् ।

परिणाम अनुसार मुस्लिम खुल्ला केन्द्रीय सदस्यतर्फ मदिना खातुन, ताहिर अलि र अन्जरा आलम निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट मदिना खातुनले ल्याएकी छन् । उनले १७५४ भोट ल्याएकी छन् ।

महिला खुल्लातर्फ ४७ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट कुन्तीदेवी पोखरेल आशा लामा र पवित्रा गिरीलाई प्राप्त भएको छ । कुतीले २०८० भोट प्राप्त गरेकी छन् ।

मधेसी खुल्लातर्फ ११ जना निर्वाचित भएकोमा ११ जना निर्वाचित भएकोमा मोहनप्रसाद यादवलाई सर्वाधिक १९५२ भोट प्राप्त भएको छ ।

आदिवासी जनजाति खुल्लातर्फ १४ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट आङनीमा शर्पालाई प्राप्त भएको छ । उनले २०२५ भोट ल्याएकी छन् ।

खुल्ला केन्द्रीय सदस्यमा कमल थापाका भाइ गणेश थापा र उनका छोरा अभिशेक थापा विजयी भएका छन् । कमल थापाकी छोरी प्रतिष्ठा थापाले पनि महिला केन्द्रीय सदस्यमा विजय हासिल गरेकी छन् ।


काठमाडौंको भृकटीमण्डपमा आज (आइतबार) बिहान सम्पन्न एकता महाधिवेशनले लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रिय सदस्य निर्वाचित भएका छन्।

राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनीत गर्नेछन्।

मनपरे शेयर गरौ ! 

Related post