• January 18, 2022

रामजानकी कृषि सहकारीको नाफा २४ लाख

 रामजानकी कृषि सहकारीको नाफा २४ लाख
मनपरे शेयर गरौ ! 


बिर्तामोड / रामजानकी कृषि सहकारीले २४ लाख भन्दाबढी नाफा कमाउन सफल भएको छ । आज बिर्तामोडमा आयोजित संस्थाको १३ औं वार्षिक साधारण सभाको अवसरमा संस्थाले २४ लाख ४ हजार ७२७ रुपैयाँ ४४ पैसा नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरिएको हो ।


कुल चुक्ता पूजी १ करोड ५७ लाख ९९ हजार ८०० रुपैयाँ रहेको सहकारीले गत असार मसान्तमा १४ करोड ९१ लाख १५ हजार १५ रुपैयाँ ७१ पैसा बचत संकलन गरेको छ । १५ करोड ७६ लाख २६ हजार ४४८ रुपैयाँ २३ पैसा ऋण लगानी गरेको राम जानकीमा ६ हजार २७० जना शेयर सदस्य रहेको जानकारी दिइयो ।


कोरोना महामारीको अवस्थामा पनि सहकारीले आफ्नो कारोबारलाई नाफ मूलक बनाएको साधारण सभामा जानकारी दिइयो ।

रामजानकीले विभिन्न शिर्षकमा कर्जा लगानी गर्दै आएको छ । व्यापारिक, कृषि, हायर पर्चेज, बचत बराबरको कर्जा, आपतकालिन कर्जा, घरायसी र आवास कर्जा शिर्षकमा ऋण प्रभाह गर्दै आएको संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिए ।


संस्थाले आगामी आर्थिक वर्षमा सदस्यहरुको सुविधाका लागि रेमिटान्स, संस्थाको नाममा आफ्नै जग्गा खरिद गर्ने, सदस्यता विस्तार गर्ने, प्रति सदस्य न्यूनतम् ५ हजार रुपैयाँ शेयर पुर्याउने, भाका नाघ्ने ऋण शुन्य बनाउने, ऋण लिई भाका नाघेका सदस्यलाई संस्थाको सेवा सुविधाबाट बन्चित गराउने लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको व्यवस्थापक भण्डारीले जानकारी दिए ।


संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथिको आसनबाट जिल्ला सहकारी संघका पूर्व सचिव युवराज ढकालले सम्बोधन गरेका थिए । कार्यक्रममा पत्रकार गोपाल काफ्ले, गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईं, सुनकोसी सहकारी संस्थाका आनन्द राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

व्यवस्थापक भण्डारीले सञ्चालन गरेको कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष कार्कीले प्रस्तुत गरेका थिए भने नीति तथा कार्यक्रम संस्थाका कोषाध्यक्ष जीवन सुवेदी र लेखा समितिको प्रतिवेदन संयोजक ज्ञानेन्द्र प्रसाद पोखरेलले प्रस्तुत गरेका थिए । रामजानकीले यसअघि क्षेत्रगत साधारणसभा सम्पन्न गरेको थियो ।

मनपरे शेयर गरौ ! 

Related post