मनपरे शेयर गरौ ! 


झापा / लामो समयको पर्खाईपछि रोजगारीका लागि ९९ जना नेपाली कामदार इजरायलतर्फ जाने भएका छन् ।

वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार बुधबार राति ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेका हुन् ।


विभागका निर्देशक डम्बरबहादुर सुनुवारले पहिलो उडानस्वरुप बुधबार उडान हुन लागेको जानकारी दिए ।


जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुने पनि उनले जानकारी दिएका छन् । १२५ जनालाई उडाउने तयारी भएपनि २६ जनामा कोरोनाभाइरस संक्रमण भएपछि संख्या घटेको हो ।
दोस्रो चरणमा भने १६२ जना इजरायल उड्ने भएका छन् । माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागले जनाएको छ ।


नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो ।
सम्झौताको २५ हप्तामा नेपाली कामदारलाई इजरायल उड्ने टुंगो लागेको हो ।

इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ ।
विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो ।

मनपरे शेयर गरौ !