मनपरे शेयर गरौ ! 


काठमाण्डौं / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध फागुन १ गते दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा छलफलका लागि प्रस्तुत भएको छ ।


आइतबारको बैठकमा नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले उक्त प्रस्ताव छलफलका लागि पेश गरेका हुन् । यसअघि २२ फागुनमा बसेको प्रतिनिधिसभाको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो ।


राणाविरूद्ध लगाइएको महाअभियोग छानबिनका लागि संविधानको धारा १०१ अनुसार महाअभियोग सिफारिस समिति गठन गरिएको हो ।


समितिमा एमालेका बिष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल सदस्य छन् ।कांग्रेसबाट मीनबहादुर बिश्वकर्मा र रामबहादुर बिष्ट सदस्य छन् । त्यस्तै माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा बिष्ट सदस्य छन् ।


नेकपा (एकीकृत समाजवादी)बाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य बनेका छन् ।
महाअभियोग प्रस्ताव छलफलका लागि प्रस्तुत भएसँगै आइतबारको बैठक सकिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने भएको छ ।


एमालेको अवरोधबीच बसेको बैठकमा पेश भएको उक्त प्रस्तावमाथिको छलफल बुधबार दिउँसो १ गते बस्ने बैठकमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।

मनपरे शेयर गरौ !