मनपरे शेयर गरौ ! 

रुमिला राई

भोजपुर जिल्ला ठूलो ढुङ्मा वडा नं. ८ मा वि.स. २०४२ चैत्र २६ गते मंगलबारको दिन पिता जमबहादुर राई र माता लक्षिण श्वरी राईको कोखबार दुई दाजु सन्तोष राई, समिल राई दुई भाई अनिल राई, सरिन राईको एकमात्र चेलीको रुपमा रूमिला राईको जन्म भएको हो । हाल मैले बिर्तामोडको वडा नं. ३ बाट (उम्मेदारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट महिला वडा सदस्यमा उम्मेद्वारी दिएकी छु ।

५ बर्षको बाल्यकालमै भोजपुरबाट बसाई सरी बिर्तामोड वडा –३ मा बसोबास गर्दै आएको म रुमिला राईले आफ्नो प्रारम्भिक शिक्षा कक्षा १० सम्म विर्ताबजारको श्री महेन्द्र रत्न माध्यमिक विद्यालयबाट लिएकी हुँ भने +२ सम्मको शिक्षा गोमेन्द्र बहुमुखी क्याम्पसबाट लिएको हो ।

+ २ पछिको अध्ययन पुनः विर्तााबजारकै अनारमनी पब्लिक क्याम्पसबाट लिएको हो । अध्ययनकै क्रममा मेरो खोटाङ्गको खार्पा वडा नं ९ निवासी नारायण मगरसँग प्रेम विवाह भएको भयो । + २ पछि पहिलो मेरो कर्मको यात्रा प्रतिदिन राष्ट्रिय दैनिक’ को वितरण व्यवस्थापक पद सम्हाल्दै शुरु भयो ।

सो अवसरमा पत्रिकाकै माध्यमबाट विर्तामोड, शनिश्चरे, लक्ष्मीपुर, विर्ताबजार, सैनिकमोड आदि स्थानहरुका स्थानीयबासीसँग प्रत्यक्ष सम्पर्क स्थापित भयो । त्यसपछि शिक्षा सहकारी संस्थामा बजार व्यवस्थापककोे रूपमा मैले लामो समयसम्म काम गरेँ । हाल आएर सिटीजन लाइफ इन्सोरेन्सको अभिकर्ताको रुपमा कार्यरत छु ।

मेरो प्रतिबद्धता :

जुनसुकै कामलाई पनि उत्तिकै सम्मान गर्ने कर्मठ, लगनशील, ईमान्दार र निडर प्रकृतिको स्वभाव भएको म रुमिला राई (मगर) विगत १४/१५ वर्ष देखि प्रत्यक्ष जनसम्पर्कमा रहेर काम गरेकाले समाजमा रहेको आर्थिक, सामाजिक, सांस्कृतिक, तथा धार्मिक मूल्य मान्यतालाई नजिकबाट नियालेकोले समाजमा मैले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने राम्ररी महशुस गरेको छु ।


साथै प्रत्येक व्यक्तिसँगको जनसम्पर्कमा रहँदा सबैको विचार, व्यवहार र आचरणहरुका बारेमा जानकार रहँदै प्रत्यक्ष देख्दै र भोग्दै आएको छु । त्यसैले कसरी जनसम्पर्कमा रहि काम गर्नुपर्छ भन्ने कुराको ज्ञान भएकोले यदि म यस वडामा महिला वडा सदस्यको रुपमा विजयी भएँ भने, कुनै व्यक्ति, संस्था र टोल विकास संस्थालाई मबाट कुनै प्रकारको व्यक्तिगत आर्थिक सहयोग गर्ने झुटो आश्वासन दिन चाहान्न ।

तर, वडा र नगरमा आएको हरेक सीप, विकास, तालिम, तथा योजनाहरुको बारेमा विभिन्न माध्यमबाट सबैलाई सु–सुचित गराई त्यसमा सक्रिय सहभागीताको लागि समेत उत्प्रेरित गर्नेछु ।

साथै आफ्नो पदीय दायित्व निर्वाह गर्दा नियम कानुन अनुसार आफ्नो कार्य क्षेत्र भित्र रहेर सम्पादन गर्नु पर्ने काममा कुनै पनि व्यक्तिगत, पार्टीगत र जातिगत असमानता र भेदभाव नराखी समानताका आधारमा आफ्नो कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

सत्यको लागि दुई झापड खान तयार हुने तर सत्यको पक्षमा बोल्न नछोड्ने म सधैं भरि यस्तै रहने छु । त्यसैले भ्रष्टाचार र अनियमितता मबाट हुने छैन र मेरो जीवनकालमा हुन दिने पनि छैन ।

भ्रष्टाचार र अनियमितताको विरुद्ध बरु पद त्याग्न तयार तर आवाज उठाउन कहिल्यै पछि हट्ने छैन । हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको “भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत पिउनु सरह हो” भन्ने मूल मन्त्रलाई सदैव आत्मसात राख्ने प्रतिवद्धता जनाउँदछु ।

मनपरे शेयर गरौ !