• September 29, 2020

महामारी र शासकीय सुधार

 महामारी र शासकीय सुधार
मनपरे शेयर गरौ ! 

विचार

विश्व पौडेल

(क) तीनवटा महामारीको शिक्षा : सन् १३२० को अन्ततिर, अहिले चीनको उत्तर–पश्चिममा पर्ने गोबी मरुभूमिमा सुरु भएको बुबोनिक प्लेग बिस्तारै मध्यपूर्व र मध्यएसियाका मुलुक हुँदै पन्ध्र वर्षपछि भूमध्यसागरका छेउमा रहेका युरोपेली मुलुकमा पुगेको थियो ।

उक्त रोगका विभिन्न आयामबारे अर्थशास्त्री, इतिहासकार र अन्य विभिन्न वैज्ञानिकले अध्ययन गरेका छन् । ५० देखि ६० प्रतिशतसम्म मृत्युदर भएको उक्त प्लेगको असर युरोपमा निकै लामो समयसम्म परेको थियो ।

इटालियन आर्थिक इतिहासका प्राध्यापक पाओलो मालानिमाका अनुसार, १३०० मा युरोपको जनसंख्या ९ करोड भएकामा १४०० मा ६ करोड ८० लाखमा झरेको थियो । त्यो प्लेगको यात्रालाई हामी अहिले कोरोना भाइरसले केही समयको फरकमा एक देशबाट अर्को देशमा गरेको यात्रासँग तुलना गर्न सक्छौं । आर्थिक इतिहासकार प्राध्यापक वाल्टर साइडलको ‘द ग्रेट लेभलर’ मा जनाइएअनुसार, उक्त रोग १३४५ मा क्रिमिया पुग्यो ।

१३४७ मा टर्कीको कन्स्टान्टिनोपल, १३४८ मा कायरो र ट्युनिसिया, १३४८ को जनवरीमा फ्रान्सको मार्सेई, सोही वर्षको वसन्त ऋतुमा पेरिस र उक्त वर्षको वर्षा ऋतुलगत्तै लन्डन अनि १३४९ मा स्कान्डेनेभियन मुलुकमा पुग्यो । रोग त्यो बेला मुख्य गरी पानीजहाजले लिएर गएका मुसा वा रोगी मान्छेहरूको माध्यमबाट यात्रा गर्थ्यो ।

जहाँगिरको आत्मकथा ‘तुजुक–ए–जहाँगिर’ का अनुसार, भारतमा जहाँगिरको शासनको दसौं वर्षमा अर्थात् सन् १६१५ मा निउमानिक प्लेगको प्रकोप थियो । पन्जाबको कुनै परगनामा सुरु भएको यो रोग त्यहाँबाट लाहोर सहरमा गयो र त्यसपछि सरहिन्द हुँदै दिल्ली पुग्यो । ‘जहाँगिरनामा’ मा यसअघि भारतमा कहिल्यै प्लेग आएको थिएन भनेर लेखिएको छ । विभिन्न भारतीय किताब हेर्दा प्लेग १६१९ सम्म भारतमा थियो भन्ने देखिन्छ ।

नेपालमा उक्त प्लेग आएको प्रत्यक्ष प्रमाण कतै उल्लेख छैन, तर डानियल राइटको ‘हिस्ट्री अफ नेपाल’ मा प्रस्तुत वंशावलीमा प्रताप मल्लका पनाति भाष्कर मल्लको शासनका बेला नेपालमा आएको प्लेगको महामारीबारे उल्लेख गरिएको छ । त्यहाँ उक्त प्लेगबारे वर्णन गर्दा यो प्लेग १२० वर्षपछि नेपालमा आएको थियो भनिएकाले जहाँगिरको पालामा भएको प्लेग नेपाल पनि आइपुगेको थियो कि भन्ने आशंका गर्न आधार पुग्छ । वंशावलीमा उक्त रोगले नेपालमा कस्तो असर गरेको थियो भन्ने विस्तृत विवरण भने पाइँदैन । काठमाडौंका तत्कालीन राजा शिवसिंह मल्ल र रानी गंगादेवी दुवै १६१९ तिर मरेका थिए । राजारानी दुवै विभिन्न कारणले चर्चित छन् ।

राजाले लम्बकर्ण भट्टलाई नेपाल ल्याएका, महाराष्ट्रिय ब्राह्मण लगाएर देगुतले मन्दिर बनाएका र दक्षिण भारतबाट आएका नित्यानन्द स्वामीलाई पशुपतिनाथको पुजारी बनाएका थिए भने रानीले बनाएको रानीवन अहिलेसम्म संरक्षित छ । राजारानी मर्दा तिनका छोरा पनि मरिसकेकाले र नातिहरूले राज्यको उत्तराधिकार पाएकाले मृत्यु त्यस बेला अलि बढी असाधारण नै थियो कि भनी अन्दाज गर्न सकिन्छ ।

सन् १७१० देखि १७२० का बीचको कुनै समय भाष्कर मल्लको पालामा नेपालमा आएको प्लेगको महामारीबारे भने वंशावलीमा अलिक विस्तृत विवरण दिइएको छ । त्यहाँ उक्त प्लेगलाई ‘महामाई’ नाम दिइएको छ । उक्त रोग लागेका बिरामीलाई काननजिकै दुख्थ्यो र त्यसको केही समयमै ती मर्थे ।

काठमाडौंमा सुरुका दिनहरूमा दिनको तीसदेखि चालीस जनासम्म मरेका थिए भने उक्त महामारी दुई वर्षसम्म चलेको थियो । प्रकोप सबैभन्दा उच्च हुँदा दिनको असीदेखि सय जनासम्म मरेका थिए । तत्कालीन प्रभावशाली प्रधानमन्त्री झागल ठाकुरले राजालाई रानीहरूसहित किमडोल बहालमा लगेर छुट्टै राखेका थिए ।

एक जना जोगीले त्यही बेला ठाकुरलाई ‘सानोतिनो उपायले यो रोग अन्त हुँदैन, चिनेको होस् या नचिनेको, हरेक मानिसलाई उसको सबैभन्दा मन परेको खाना खुवाएमा बल्ल यो महामारी सकिनेछ’ भनेकाले ठाकुरले हनुमानढोकामा त्यसै गरी खानेकुरा वितरण गरे अनि त्यसको चार दिनपछि महामारी नियन्त्रणमा आएको जस्तो भयो । युवक राजा महामारी नियन्त्रण भयो भन्ने सोचेर जोसिएर त्यही दिन आफू छुट्टैबसेको घरको झ्यालबाट भागेर हनुमानढोका दरबारमा आए, तर उनलाई रोगले तुरुन्त समात्यो र उनी मरे ।

हरेक महामारी एक दिन अन्त हुन्छ । यी तीन महामारी पनि अन्त भए । त्यसपछि तिनले समाजमा कत्तिको र कस्तो दूरगामी प्रभाव पारे, हेरौं । ‘ब्ल्याक डेथ’ का अध्येता तुर्किस प्राध्यापक सेब्केत पामुकका अनुसार, युरोपमा प्लेगको महामारीपछि दक्ष र अदक्ष दुवै खालका कामदारको तलब बढ्यो र असमानता घट्यो ।

मान्छेहरूको आम्दानी बढ्ने क्रम सय वर्षसम्मै कायम रह्यो र सन् १४५० मा सबैभन्दा उच्च तहमा पुग्यो । पश्चिम युरोपका अधिकांश देशमा १६०० मा बल्ल वास्तविक तलब घटेर प्लेग सुरु हुनुअघिको अर्थात् १३५० कै हाराहारीमा झर्‍यो । धेरै मानिस मरेकाले साधारण किसानलाई काम गर्न धेरै जमिन सस्तो तिरोमै उपलब्ध भयो, मर्ने कतिपयले आफ्नो सम्पत्ति दानमा मन्दिर तथा पुस्तकालयलाई दिएकाले निर्माण क्षेत्रमा धेरै कामदारको माग भयो ।

प्राध्यापक रबर्ट गोट फ्रेइडले दिएको एक तथ्यांकअनुसार, औसत कायरोवासीले यदि चौधौं शताब्दीको सुरुमा प्रतिदिन १,१५४ क्यालोरी खान्थे भने पन्ध्रौं शताब्दीको मध्यमा आइपुग्दा उनीहरू दिनको १,९३० क्यालोरी खान्थे । गहुँको भाउ खासै बढेको थिएन । मासु, चीज आदि प्रोटिन धेरै भएका खाद्यान्नको माग बढेकाले भाउ पनि बढेको थियो ।

नेपालमा महामारीको आर्थिक प्रभाव के थियो, यसबारे भन्न तत्कालीन तथ्यांकहरू अध्ययन गरिएको छैन । तर दुईवटै प्लेगले मुलुकलाई कमजोर बनाएका केही ऐतिहासिक प्रमाण छन् । राजा शिवसिंहको मृत्युपछि लक्ष्मीनरसिंह र सिद्धिनरसिंह दुवैले ललितपुर र काठमाडौंबाट छुट्टाछुट्टै राज्य चलाए र यसरी साबिकको कान्तिपुर राज्य फुट्यो । मुलुक फुट्नुलाई कुनै पनि मुलुकको इतिहासको सबैभन्दा दुर्भाग्यपूर्ण घटनाका रूपमा लिने गरिन्छ । त्यसरी फुट्नलाई साबिकको राज्यको प्राधिकार एकदम कमजोर भएको हुनुपर्छ ।

अर्कातिर, दोस्रो प्लेगपछिको स्थिति पनि त्यति राम्रो देखिँदैन । भाष्कर मल्लको मृत्युपछि काठमाडौंको स्थिति पनि धेरै राम्रो भएन । प्रताप मल्लको रगत खोज्ने क्रममा उनका छोरा महीपतीन्द्र मल्लका छोरीपट्टिका छोरा तराईतिरका जगज्जय मल्ललाई ल्याएर झागल ठाकुरले काठमाडौंको राजा बनाए । तर जगज्जयले काठमाडौंका भारदारलाई एक बनाएर राख्न सकेनन् । उनका माइला छोरा जयप्रकाश मल्ल वा काठमाडौं आएपछि जन्मेका राज्यप्रकाश मल्लमध्ये कसलाई सही उत्तराधिकारी मान्ने भन्ने प्रश्नमा भारदारहरू विभाजित भएपछि अन्ततोगत्वा समृद्ध काठमाडौं कमजोर भयो ।

काठमाडौंभन्दा परम्परागत रूपमा विपन्न र कमजोर गोर्खालीहरूबाट सन् १७६८ मा जयप्रकाश मल्ल पराजित भएपछि काठमाडौंको स्वतन्त्र राज्यको अस्तित्व समाप्त भयो ।

(ख) प्रकोपपछि राज्य–जनता सम्बन्ध

विगतमा हामीलाई महामारीले के गरेको थियो भन्ने जान्नुको अर्थमा हाम्रो भविष्य पनि त्यस्तै भयावह र नीरस हुन्छ होला भन्न खोजिएको भने हैन । तर महामारीले अहिले हाम्रो मुलुकलाई कमजोर बनाएको छ र यसलाई सही नेतृत्व दिएर अगाडि बढ्न सकिएन भने हाम्रो राष्ट्रियता कमजोर हुनेछ भनेर भन्न पनि त्यति हिचकिचाउनुपर्दैन । महामारीमा हामीले किसानलाई राम्रोसँग व्यवहार गरेनौं भने तिनीहरू राज्यसँग असन्तुष्ट हुनेछन् । गरिबगुरुबा कामदारहरू सडकमा दुःख गरेर हिँडेको देख्दा उद्धार गर्ने जाँगर चलाएनौं भने उनीहरूको जीवनभरि सम्झने नरमाइलो घटनाका रूपमा यो रहनेछ ।

हाम्रा डाक्टर र नर्सहरू, हाम्रो सुरक्षामा खटिएका कर्मचारीहरू, साना–ठूला व्यवसायीहरू, ज्यालादारीमा काम गर्ने जनता सबैले राज्य र जनताबीचको सामाजिक सम्झौता (सोसियल कन्ट्र्याक्ट) लाई अहिले आआफ्नै पाराले मूल्यांकन गरेका छन् । दुःख पर्दा राज्यको व्यवहारले नै राज्य र जनताबीचको सामाजिक सम्झौता पुनर्नवीकरण हुन्छ कि हुँदैन भन्ने निर्धारण गर्छ । मुलुकका शासकहरूको व्यवहारले आजित भएका जनताकि विप्लव गर्न खोज्छन् कि अर्को मुलुकको प्रशंसा गर्दै त्यतातिर सर्न खोज्छन् ।

हाम्रो आर्थिक बानी–ब्यहोराको मूल्यांकन गर्ने बेला पनि आएको छ । गणतन्त्र नेपालका गत एक दशकका बजेट र तिनको कार्यान्वयन हेर्दा हामी जिस्किरहेका मात्र छौं र मुलुक चलाउन गम्भीर छैनौं कि भन्ने प्रश्न उठ्छ । हामीले फाल्तु कुरामा पैसा फालेका छौं, मुलुकलाई दोहन गर्ने र सत्तासीनहरूलाई पोस्ने पुरानो गोर्खाली जागिरे शैलीलाई अहिले नयाँ नाम दिएर चलाएका छौं कि भन्ने देखिएको छ ।

हामीले मुलुकको विविधता हेरेर पनि यसलाई न्यायपूर्ण तरिकाले अघि लैजानुपर्ने र त्यसको दिगोपनका लागि उपयुक्त संस्था बनाउनुपर्ने कुरा बिर्सेका छौं । मुलुकको समग्र हित गर्न डिजाइन गरिएका ठूलठूला आयोजनाहरू समयमै र कम खर्चमा सम्पन्न गर्न हामी उदासीन छौं । यसले गर्दा मुलुकको राज्य–जनता सम्झौता कमजोर भएको छ ।

शासकहरूलाई केले गम्भीर भएर मुलुक चलाउन प्रेरित गर्छ ? इतिहासको ज्ञान र भविष्यले आफूलाई कसरी मूल्यांकन गर्ला भन्ने कुराको अनुभूतिले । माओको हाहु पाराको शासन सहेका देङ स्याओ पिङ चीनजस्तो महान् सभ्यता सधैं यसरी हाहाहुहु गरेर चल्न सक्दैन भन्थे ।

उनी सधैं ‘तोङ लुआन’ (अर्थात् अराजकता) का विरुद्ध रहेर आर्थिक प्रगतिलाई हासिल गर्न विभिन्न अप्ठेरा कुरामा सम्झौता गर्न पनि तयार भए । सन् १९६० मा भारतमा औद्योगिक क्षेत्र राम्रो थियो । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यसको १३ प्रतिशत योगदान थियो, जबकि त्यो बेला थाइल्यान्डको औद्योगिक क्षेत्रको १२.५ प्रतिशत र मलेसियाको ८ प्रतिशत मात्र योगदान थियो ।

सन् १९९५ मा आइपुग्दा भारतको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १८ प्रतिशत पुगेको थियो भने थाइल्यान्डको २८ प्रतिशत र मलेसियाको २६ प्रतिशत । भारतीयहरूले नब्बेको दशकमा आफू पछि पर्दै गएको महसुस गरेर विभिन्न क्षेत्रको नियमनमा सुधार गर्न थाले । भारत र चीन दुवैलाई आफू संसारको सबैभन्दा पुरानोमध्येको एक सभ्यता भएको गर्व छ र विश्वमा अरूभन्दा आफू धेरै पछाडि पर्नु हुँदैन भन्ने भावना छ ।

अर्कातिर, हामीले हाम्रो गर्वलाई कहिल्यै शासकीय सुधार र मुलुकको प्रगतिमा प्रयोग गरेका छैनौं । हामी हरेक प्राकृतिक प्रकोपलाई विदेशीसँग हात फैलाएर भीख माग्ने मौकाका रूपमा लिन्छौं, एक प्रकोपपछि अर्को प्रकोप नआउन्जेल कुनै शासकीय कमजोरीमा सुधार गर्दैनौं । हामी बिस्तारै छिमेकी तथा संसारका अरू मुलुकका लागि भार हुँदै गएका त छैनौं भनेर पनि यही प्रकोपका बेला हामीले मूल्यांकन गर्नुपर्ने भएको छ ।

जनता र छिमेकीको विश्वास र इज्जत आर्जन गर्न के गर्न सकिन्छ त ? एक, अनुशासित आर्थिक व्यवस्थाको जग राख्ने । यसका लागि धेरै ढिलो भइहालेको छैन । अझै पनि अनावश्यक र राम्रोसँग प्रयोग नभएका धेरै खर्च कटौती गर्न सकिन्छ । दुई, उत्पादन क्षमता बढाउनका लागि नियामक तथा अन्य सबै सम्झौता गर्न तयार हुने । यसका लागि जनशक्ति उत्पादनको स्तर बढाउने ।

विद्यार्थी युनियनहरू अहिलेकै उग्र रूपमा चाहिन्छन् कि चाहिँदैनन्, शिक्षकहरूले राजनीति गर्न हुन्छ कि हुँदैन जस्ता महत्त्वपूर्ण प्रश्नदेखि विश्वविद्यालयमा कसरी पैसा खर्च गर्दा हामीलाई उच्च फाइदा हुन्छ, कृषि विश्वविद्यालयहरूले किसानको उत्पादकत्व बढाउन के गरेका छन् र त्यसलाई कसरी सुधार गर्नेजस्ता प्रश्नको उत्तर सोच्ने बेला पनि यही हो । तेस्रो, सरकारको आफ्नै पूर्वाधार लगायतका प्रमुख पब्लिक गुड्स उत्पादन गर्ने दायित्वको र त्यहाँको अहिलेसम्मको क्षमताको मूल्यांकन गर्ने । हामीसँग विदेशी मुद्राको रिजर्भ ठीकै भएको र ऋण परिचालन गर्न स्पेस भएको अहिलेको अवस्थामा धेरै पूर्वाधारका कुरामा प्रगति गर्न सकिन्छ ।

हरेक रोग र प्राकृतिक प्रकोपपछि पनि हामीले सिकेनौं, विदेशीसँग मागेर समस्या पार लगाउने पुरानै बाटो मात्र समात्यौं र जेनतेन पार लागेपछि पहिला जे गरेका थियौं त्यही नै गर्दै रह्यौं भने मुलुक बलियो त बन्दैन नै, अर्को पटकको प्राकृतिक प्रकोपको बेला पनि हाम्रा सन्तानले यससँग जुध्न अवलम्बन गर्ने एउटा मात्र उपाय भनेको अरूसँग भीख माग्दै हात फैलाउने नै हो । कान्तिपुरबाट

मनपरे शेयर गरौ ! 

Related post