• September 30, 2020

अर्जुनधारमा ३३३५ घर परिवारलाई राहत

 अर्जुनधारमा ३३३५ घर परिवारलाई राहत
मनपरे शेयर गरौ ! 

झापा / अर्जुनधारा नगरपालिकाले नगरका ३ हजार ३३५ घरपरिवारलाई राहत प्याकेजस्वरुप खाद्यान्न वितरण गरेको जनाएको छ ।

नगरपालिकाको साप्ताहिक पत्रकार सम्मेलनमा शुक्रबार नगर प्रमुख हरिकुमार रानाले नगर र वडाबाट वितरण गरिएको राहतबारे जानकारी दिएका हुन् । उनका अनुसार नगरपालिकाले प्रत्येक वडामा १५० घरधुरीका दरले एक हजार ६५० परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

नगरले वितरण गरेको राहत प्याकेजमा १० केजी चामल, एक केजी दाल, एक केजी नुन, एक लिटर रिफाइन तेल र एक थान साबुन रहेको थियो । नगरपालिकाले ११ लाख ४१ हजार ९०६ रुपैयाँबराबरको खाद्यान्न वितरण गरेको मेयर रानाले बताए ।

त्यस्तै, वडा कार्यालयले आफ्नो बजेटबाट थप एक हजार ६८५ परिवारलाई राहत सामग्री वितरण गरेको खाद्यान्न व्यवस्थापन समितिकी संयोजक तथा नगरकी उपमेयर कमला खतिवडा आचार्यले बताइन् ।

उनका अनुसार नगरका ९ वटा वडा कार्यालयले १३ लाख २० हजार ९४० रुपैयाँबराबरको खाद्यान्न वितरण गरेको हो । वडा नम्बर ७ र १० नम्बरले भने वडाको बजेटबाट थप खाद्यान्न वितरण नगरेको पनि उनले जानकारी दिइन् ।

जसअनुसार १ नम्बरले एक सय, २ नम्बरले १५०, ३ नम्बरले १५०, ४ नम्बरले १३७, ५ नम्बरले २३०, ६ नम्बरले १३७, ८ नम्बरले ३२०, ९ नबरले ३३३ र ११ नम्बर वडा कार्यालयले १२८ घरपरिवारलाई थप राहत सामग्री प्रदान गरेको हो ।

यसैबीच, नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा ५ लाख १५ हजार रुपैयाँ संकलन भएको छ । नगरपालिकाले स्थापना गरेको कोषमा विभिन्न दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको जनाएको छ ।

यस्तै, नगरको राहत कोषमा ८ हजार १८० केजी चामल, १ सय कार्टन पानी, १५ लिटर खानेतेल, १५ केजी दाल, साबुन ३० वटा जम्मा भएको जनाइएको छ ।

मेयर रानाले पहिलो चरणका राहत वितरण गर्दा लक्षित समुदायभन्दा बाहिरका धेरै मानिसले पाएको भन्ने गुनासो आएको भन्दै अर्काे चरणमा चाहिँ विपन्न समुदायलाई मात्र राहत वितरण गर्ने जनाए । उनले चुलो नबलेको घरलाई नगरले प्राथमिकतामा राख्ने समेत बताए ।

राहत वितरण गरिएका सबै वडामा राजनीतिक दलका नेता, टोल विकास समितिका पदाधिकारी, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरीका प्रमुखलगायतले गरेको छलफलमा लकडाउनका बेला मादक पदार्थ सेवन गरी झैँझगडा गर्ने बढेको, लागुपदार्थ सेवन गर्ने पनि बढेको गुनासो आएको मेयर रानाले बताए ।

सरकारले जारी राखेको लकडाउनलाई नगरमा पूर्णरुपमा पालना गराउन राजनीतिक दलसँग समन्वय गरी कडा गर्न भेलाले सुझाव दिएको पनि उनले बताए । कार्यक्रममा प्रदेश सांसद बृख प्रधान र नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेललगायतको उपस्थिति थियो ।

मनपरे शेयर गरौ ! 

Related post