• September 23, 2020

भिदाल र राकिटिचको विकल्प एनगोलो कान्टे !

 भिदाल र राकिटिचको विकल्प एनगोलो कान्टे !
मनपरे शेयर गरौ ! 

बार्सिलोना / विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यतिबेला विश्व फुटबल सुस्ताएको छ। युरो कप, कोपा—अमेरिकाजस्ता कतिपय ठूला प्रतियोगिता एक वर्ष पछाडि सरिसकेका छन्। युरोपेली क्लब लिग फुटबलहरू पनि हाल स्थगित छन्।

विश्व फुटबल महासंघ (फिफा), क्षेत्रीय फुटबल महासंघ र राष्ट्रिय फुटबल संघहरूको काँधमा आगामी खेल तालिका व्यवस्थित गर्न ठूलै चुनौती थपिएको छ।

फिफाले ट्रान्सफर विन्डो (खेलाडी किनबेच प्रक्रिया) को समय पनि पछाडि सारेको छ। तर, समर ट्रान्सफर विन्डोको समय सुरु हुनुअघि नै खेलाडी किनबेचको समाचारले विश्व फुटबललाई मजैले तताएको छ। पछिल्लो समय युरोपका ठूला क्लबहरू पनि खेलाडीको सम्झौता नवीकरण गर्ने, पुराना खेलाडी बिक्री गर्ने र नयाँ खेलाडी भित्र्याउने अभियानमा सक्रिय भइसकेका छन्।

पछिल्लो समय विभिन्न समस्याबाट घेरिएको स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना पनि नयाँ खेलाडी भित्र्याउने योजनामा छ। पेरिस सेन्ट जर्मन (पीएसजी) बाट ब्राजिलियन स्टार नेमारलाई पुनः क्लबमा फर्काउने योजनाबाट पछाडि हटेको बार्सिलोना इन्टर मिलानका स्ट्राइकर लाउटेरो मार्टिनेजलाई खरिद गर्ने अभियानमा भने सक्रिय नै छ।

बार्सिलोनाले २२ वर्षीय अर्जेन्टिनी स्ट्राइकर मार्टिनेजको मूल्य पनि निर्धारण गरिसकेको छ। ला लिगा लिडर बार्सिलोनाले मार्टिनेजका लागि एक करोड युरो (एक करोड १० लाख अमेरिकी डलर) खर्चन तयार रहेको बताएको छ।

यसैबीच, बार्सिलोना आगामी सिजनका लागि भरपर्दो मिडफिल्डरको खोजीमा समेत लागेको बताइएको छ। आफ्ना दुई प्रभावशाली खेलाडी आर्टुरो भिदाल र इभान राकिटिचले क्लब छाड्ने सम्भावना बढेपछि बार्सिलोना प्रभावशाली नयाँ मिडफिल्डरको खोजीमा जुटेको हो। यसैक्रममा बार्सिलोनाको आँखा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका फ्रान्सेली मिडफिल्डर एनगोलो कान्टेमाथि परेको छ।

बार्सिलोनाले भिदाल र राकिटिचको विकल्पका रूपमा २९ वर्षीय कान्टेलाई क्याम्प नोउ भित्र्याउन सकिने निष्कर्ष निकालेको छ। ‘बार्सिलोना मैदानमा मध्यक्रम सम्हाल्न सक्ने बलियो र छरितो खेलाडीको खोजीमा छ। बार्सिलोनाले चाहेको सबै गुण कान्टेसँग छ। उनी मैदानमा आक्रामक रूपमा प्रस्तुत हुन सक्छन् र छरिता पनि छन्। उनीसँग भिदालको विकल्प बन्न सक्ने सबै खुबी छ’, बार्सिलोनाका एक पदाधिकारीले भनेका छन्।

भिदालले यसै सिजनको अन्त्यमा बार्सिलोना छाड्ने अनुमान गरिएको छ। चिलीका ३२ वर्षीय मिडफिल्डर भिदाल जर्मन क्लब बायर्न म्युनिखबाट सन् २०१८ मा बार्सिलोनामा आबद्ध भएका थिए। भिदालसँगै राकिटिच पनि क्याम्प नोउ छाड्ने तयारीमा छन्।

३२ वर्षीय क्रोएसियन मिडफिल्डर राकिटिच सन् २०१४ मा अर्को स्पेनिस क्लब सेभिलबाट बार्सिलोना आएका थिए।

चेल्सी भने ब्राजिलियन खेलाडी फिलिप कोउटिन्होलाई भित्र्याउने योजनामा छ। बार्सिलोनाका २७ वर्षीय आक्रामक मिडफिल्डर कोउटिन्हो हाल लोन (ऋण) मा जर्मन क्लब क्लब बायर्न म्युनिखबाट खेल्छन्।

त्यसैले पनि बार्सिलोनाका लागि कान्टेलाई भित्र्याउन थप सहज हुने अनुमान गरिएको छ। कान्टे आफैंले भने अझ केही समय चेल्सीमै बस्ने इच्छा व्यक्त गरेका छन्। यस विषयमा चेल्सीले आधिकारिक रूपमा केही बोलेको छैन। अन्नपूर्णपोष्टबाट

मनपरे शेयर गरौ ! 

Related post