कागजात च्यात्दै वडाध्यक्षलाई कुटपिट गर्ने ७ जना पक्राउ

जाजरकोट / जुनीचाँदे गाउँपालिका –२ मजकोटस्थित वडा कार्यालयका वडाध्यक्षलाई कुटपिट गर्दै सो कार्यालयका कागजात समेत च्यातेर नष्ट गरेको अभियोगमा ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–२ बस्ने ५३ वर्षीय बिर्ख नाथ, ३१ वर्षीय जय बहादुर नाथ, ३६ वर्षीय रेशम नाथ, १८ वर्षीय धन बहादुर नाथ, २५ वर्षीय महेन्द्र नाथ, ४९ वर्षीय नरु नाथ र २१ वर्षीय सुरेन्द्र नाथ रहेका छन् ।
उनीहरुले वडा कार्यालयमा पिउने पानीको व्यवस्था नगरेको भन्दै वडा कार्यालयको कागजात नियन्त्रणमा लिई च्यातेर नष्ट गर्नुका साथै सोही वडाका वडाध्यक्षलाई कुटपिट आरोपमा ईलाका प्रहरी कार्यालय पंचलादहल उनीहरुलाई पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएका वडाध्यक्षलाई उपचारको लागि सुर्खेततर्फ पठाइएको छ ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।