• September 28, 2020

उदयपुरको सिवाईमा ५८ जनाको स्वाब नमूना संकलन

 उदयपुरको सिवाईमा ५८ जनाको स्वाब नमूना संकलन
मनपरे शेयर गरौ ! 


उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा बिहीबार ५८ जना स्थानीयको कोरोनापरिक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको छ । त्रियुगा नगरपालिका–४ मोतिगडामा पनि २० जनाको स्वाब नमूना सङ्कलन गरिएको छ ।


प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको उपस्थितिमा प्रदेश जनस्वास्थ्य कार्यालयका चिकित्सकसहितको टोलीले सिवाईमा ५८ मुस्लिम नागरिकको कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन गरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
सिवाईको रामजानकी टोल, टोकनी टोल, बडेरुवा र अजगरा टोलमा सङ्कलन गरिएको स्वाब नमूनाको परीक्षण विराटनगरमा सम्पन्न भएर रिपोर्ट आएपछि आवश्यक परे सोहीअनुसार थप स्वाब नमूना सङ्कलन गरिने नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताए ।

भुल्केसहित मोतिगडाका सात स्थान र सिवाईका आठ स्थानलाई अहिले स्वास्थ्य कार्यालय उदयपुरले कोरोनायुक्त वा खतरायुक्त स्थानको रूपमा राखेको कार्यालयले जनाएको छ ।

भुल्केमा १२ भारतीय मुस्लिम धर्मगुरुसहित १६ स्थानीय कोरोना सङ्क्रमित र सिवाईका तीन टोलका मुस्लिम समुदायबीच दैनिक आवतजावत र उठबस भएका कारण पनि सिवाईलाई कोरोना खतरायुक्त क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मोतिगडा क्षेत्र पनि भुल्केसँंगै जोडिएको र मोतिगडामा मुस्लिम बासिन्दाहरु नभए पनि भुल्केसँग आवतजावत हुने क्षेत्र भएकाले मोतिगडालाई पनि खतरायुक्त क्षेत्र घोषणा गरिएको हो ।

मनपरे शेयर गरौ ! 

Related post