• December 1, 2020

किन लिएन प्रहरीले पूर्वआइजिपी खनालसहित सांसदविरूद्ध अपहरणको जाहेरी

 किन लिएन प्रहरीले पूर्वआइजिपी खनालसहित  सांसदविरूद्ध अपहरणको जाहेरी
मनपरे शेयर गरौ ! 

काठमाण्डौं / महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी लिन अस्वीकार गरेको छ ।

सांसद तथा पूर्वराज्यमन्त्री सुरेन्द्र यादवलाई खनाल र सांसदद्वयले जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनीहरूविरूद्ध जाहेरी दिन जनता समाजवादी पार्टीका नेताहरू आज महानगरीय प्रहरी परिसर कार्यालय टेकु पुगेका थिए ।

सुरूमा मुद्दा शाखाका डिएसपीले घटना महोत्तरीको भएको भन्दै उतै गएर उजुरी दिन भनेका थिए । उनले कार्यालय प्रमुख एसएसपी श्याम ज्ञवाली पनि कार्यालयमा नभएकाले उजुरी दर्ता गर्न आनाकानी गरेका थिए । कार्यालय समय सकिने केही मिनेटअघि काठमाडौं परिसरका नवनियुक्त प्रमुख एसएसपी श्याम ज्ञवाली टेकु आएका थिए ।

एसएसपी ज्ञवालीले जाहेरी ठाडै अस्वीकार गरिदिएको पूर्वप्रधानमन्त्री एंवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले जानकारी दिए ।

‘एसएसपीले जाहेरी दर्ता गर्न ठाडै अस्वीकार गरिदिनुभयो। उहाँलाई थाहा छ जाहेरी दर्ता गर्नुपर्छ भन्ने तर उहाँलाई माथिबाट आदेश आएको छ,’ भट्टराईले भने,‘ओलीतन्त्रमा प्रहरी र कर्मचारी सबै डराएका छन् ।’ प्रहरीले जाहेरी लिन नमानेपछि टेकु पुगेका सांसद यादवसहित जनता समाजवादी पार्टीका नेताहरू फर्किएका छन् ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइ पुर्याएका थिए।

पूर्वआइजिपी खनाल र पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन् । समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो। तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post