• September 21, 2020

वैशाख २५ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

 वैशाख २५ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय
मनपरे शेयर गरौ ! 

काठमाडौँ / सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । आइतबारको मन्त्रीपरिषद् बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्‍चार तथा सूचनाप्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

‘मुलुकभर कोरोनाको संक्रमण जोखिम न्यूनिकरण गर्न हामीले चालेको लकडाउनको अवधि आगामी वैशाख २५ गते बिहीबार मध्यरातिसम्मका लागि बढाइएको छ’ मन्त्री खतिवडाले भने । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

यस्तै बैठकले बाह्य जगत्‌बाट कोरोना संक्रमण नहोस् भन्‍नका लागि अन्तर्राष्ट्रिय सीमानाकाहरुमा आवागमन स्थगन गर्ने निर्णयलाई वैशाख ३१ गते बुधबार मध्यरातिसम्म बढाउने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम देखिएपछि सरकारले चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो । पछिल्लोपटक सरकारले वैशाख ३ गते १२ दिनको लकडाउन थपेको थियो । सरकारले यसअघि नै जेठ २ गतेसम्मलाई हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति अन्तर्गतको मुख्यसचिव नेतृत्वको कार्यदलले सरकारलाई एक हप्ता लकडाउन थप गर्न सिफारिस गरेको थियो ।

मनपरे शेयर गरौ ! 

Related post