• September 23, 2020

महेन्द्रसिंह धोनीले फेरि भारतका लागि खेल्लान् ?

 महेन्द्रसिंह धोनीले फेरि भारतका लागि खेल्लान् ?
मनपरे शेयर गरौ ! 

नयाँदिल्ली, एजेन्सी / महेन्द्रसिंह धोनीले फेरि भारतका लागि खेल्लान् ? हरभजन सिंहको भनाइ मान्ने हो भने अब धोनीले भारतबाट कहिल्यै खेल्ने छैनन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को तयारीका लागि मार्चमा धोनीसँगै चेन्नई सुपर किंग्सको क्याम्पमा रहेका हरभजनले आफ्ना पूर्व कप्तानले भारतबाट पर्याप्त खेलिसकेको जनाएका थिए ।

हालै मात्र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीआईए) ले आईपीएल अनिश्चित कालका लागि स्थगित भएको जनाएको थियो । त्यसपछि भारतीय क्रिकेटमा जन्मिएको पहिलो प्रश्न थियो, ‘त्यसले धोनीका लागि कस्तो अर्थ राख्छ ?’ जुलाईमा धोनी ३९ वर्ष लाग्नेछन् ।

इंग्ल्यान्डमा जुलाईमा भएको विश्वकपको सेमिफाइनलमा भारत पराजित भएयता उनले राष्ट्रिय टोलीबाट खेलेका छैनन् । भारतका मुख्य प्रशिक्षक रवि शास्त्रीले अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुन धोनीले आईपीएलमा आफ्नो फर्म देखाउनुपर्ने जनाएका थिए ।

सीमित ओभरको क्रिकेटमा भारतका उपकप्तान रहेका रोहित शर्मासँग इन्स्टाग्राम च्याटमा हरभजनले आईपीएलमा निरन्तर खेलिरहे पनि २०१९ को विश्वकपबाटै धोनीले भारतका लागि खेलाडी जीवन टुंग्याएको आशंका गरेका छन् ।

‘म चेन्नई सुपर किंग्सको क्याम्पमा थिएँ, त्यहाँ सबैले मलाई धोनी फेरि भारतका लागि खेल्नेछन् ?, ट्वान्टी–२० विश्वकपका लागि धोनी छानिने छन् ? भनेर प्रश्न गर्थे,’ हरभजनले शर्मासँग भने, ‘त्यसमा मैले आफूलाई केही थाहा नभएको र यो सबैमा उनमै निहित रहेको जनाएको थिएँ । उनले खेल्न चाहे पनि नचाहे पनि त्यो उनको निर्णय हो ।’

‘धोनीले आईपीएल खेल्ने शतप्रतिशत निश्चित छ । तर उनले भारतबाट फेरि खेल्छन्, त्यो भने हामीले पनि पत्ता लगाउन बाँकी छ,’ हरभजनले भने, ‘यसको अनुभूति उनले गरेका छन् कि छैनन् ? जहाँसम्म मलाई लाग्छ, उनले फेरि भारतबाट खेल्न चाहेका छैनन् । भारतबाट धोनीले जति खेल्नुपर्ने हो खेलिसकेका छन् ।

जति मैले उनलाई चिनेको छु, त्यस हिसाबमा भन्दा धोनी भारतको नीलो जर्सी फेरि लगाउन चाहँदैनन् । मलाई लाग्छ उनले अन्तिमपल्ट भारतका लागि गत वर्ष विश्वकपमै सेमिफाइनल खेलेका थिए । मलाई त्यही लागेको छ, केहीले बताएअनुसार पनि यही नै हो ।’

गत वर्ष विश्वकपपछि धोनीको विचार के हो भनेर आफू र भारतीय टोली अनभिज्ञ रहेको जनाए । ‘हामीलाई यस बारेमा केही थाहा छैन,’ शर्माले भने, ‘गत वर्षको विश्वकप जुलाईमा भएको थियो, त्यसयता हामीलाई केही थाहा छैन । त्यही भएर हामीलाई धोनीबारे केही जानकारी छैन ।’

विश्वकपबाट बाहिरिनुमा शर्माले भारतको पहिलो १० ओभरमा खराब खेल भएको जनाए । भारतले पहिलो पावर प्लेमा २४ रन बनाउँँदा ४ विकेट गुमाइसकेको थियो । शर्माले हरभजनलाई उनी खेल्दा खेरि र अहिले विराट कोहलीले नेतृत्व गरिरहेको भारतको सीमित ओभरमा खेल्दाको टोली तुलना गर्न भनेका थिए । हरभजनले अहिलेको टोली शीर्ष ब्याटिङमा भर रहेको र मध्यक्रमको ब्याटिङमा एकरुपता नभएको बताए ।

‘मैले बाहिरबाट हेर्दा अहिलेको भारतीय टोली धेरै मात्रामा विराट कोहली र रोहित शर्मामा भर परेको छ तथा आफैंमाथि विश्वास गर्ने खेलाडी धेरै छैनन् । निश्चय पनि टोलीमा धेरै राम्रा खेलाडी छन्, तर उनीहरू विराट र रोहित आउट भएमा आफैंमाथि विश्वास गर्न सकिरहेका हँुदैनन् । त्यस्तो भएमा हाम्रो हातबाट ७० प्रतिशत खेल जानेछ । तल्लोक्रमका आएर खेल जिताउने सम्भावना त्यसपछि धेरै कम रहन्छ ।

‘तर हामीले खेल्दा टोलीमा त्यो विश्वास थियो, युवराज सिंहले रन बनाइरहेका हुन्थे । उनले नबनाउदा राहुल द्रविडले स्कोर गर्थे, त्यो पनि नभए अरु कोहीले बनाउँथे । त्यो विश्वास हामीले एकअर्कामाथि गरेका थियौं,’ हरभजनले भने, ‘तिमी (शर्मा) र विराटले रन नबनाउँदा के हुन्छ । एउटा राम्रो साझेदारी पनि देखिँदैन । शिखर धवनलाई पनि समावेश गरेर ३ विकेट पतन भयो भने हाम्रो हातबाट खेल जानेछ । यो एउटा विषय हो, यसलाई सुधार गर्न सकिन्छ ।’

सन् २०२० र २०२१ मा गरी दुई ट्वान्टी–२० तथा २०२३ मा एकदिवसीय गरी तीन विश्वकप हुँदै छ । हरभजन भारत कम्तीमा दुई विश्वकप जित्न सक्षम रहेको शर्माको भनाइसँग सहमत थिए । तर उनी त्यसका लागि आईपीएलमा पाएको सफलतालाई अन्तर्राष्ट्रिय क्रिकेटसम्म पुर्‍याई राम्रोसँग दबाब झेलोस् भन्न चाहन्छन् ।

‘आईपीएलमा हेर्छु, जसरी खेलाडीहरू खेलिरहेका हुन्छन्, त्यस हिसाबमा अन्तर्राष्ट्रिय क्रिकेटमा खेलिरहेका हुँदैनन्,’ हरभजनले भने, ‘दबाबकै कारण त्यो भएको हो भनेर भन्न सक्दिनँ । तर ठूला खेलाडी बन्न चाहन्छन् भने उनीहरूले आईपीएलमा मैले देखेजस्तो आफ्नो प्राकृतिक खेल खेल्न सक्नुपर्छ । आईपीएलमा उनीहरू निकै भिन्न देखिन्छन् । उनीहरूले त्यही बलरलाई प्रहार गरिरहेका हुन्छन् ।

ट्रेन्ट बोल्ट, टिम साउथी, डेल स्टेयन यहाँ खेलिरहेका हुन्छन् । उत्कृष्ट खेलहरू यहीं हुन्छ । अन्तर्राष्ट्रिय क्रिकेटको दबाबले हुनसक्छ, आफ्नो स्थान गुमाउने डरले हुनसक्छ, उनीहरूले आफ्नो खेल देखाउन सकिरहेका हुँदैनन् । उनीहरूलाई कम्तीमा १० खेलका लागि अवसर दिने हो भने उनीहरूले राम्रो मौका पाउन सक्छन् ।’ कान्तिपुरबाट साभार

मनपरे शेयर गरौ ! 

Related post