• November 28, 2020

हल्दिबारीले २७०८ घरधुरीलाई राहत दिने, काठमाण्डौंमा अलपत्र हल्दिबारीबासीलाई घर फर्काउने

 हल्दिबारीले २७०८ घरधुरीलाई राहत दिने, काठमाण्डौंमा अलपत्र हल्दिबारीबासीलाई घर फर्काउने
मनपरे शेयर गरौ ! 


हल्दिबारी / हल्दिबारी गाउँपालिकाले लकडाउनका कारण मारमा परेका दुई हजार ७०८ घरपरिवालाई तीन तहमा विभाजन गरि राहत उपलव्ध गराउने भएको छ ।

गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा सोमबार बसेको बैठकले त्यस्तो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

बैठकले सरकारले ११ चैतदेखि घोषणा गरेको लकडाउनको समयावधि थप हुँदै गइरहेको बेला गाउँपालिकाका अतिविपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारी गर्ने र असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई लकडाउनको अवधिभर खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो ।

राहतका लागि वडा नम्बर १ का ४१४, वडा नम्बर २ का एक हजार २३५, वडा नम्बर ३ का २९४, वडा नम्बर ४ का ५०१ र वडा नम्बर ५ का २६१ गरि जम्मा दुई हजार ७०८ घरपरिवारको नामावलि संकलन भएको प्रवक्ता पोर्तेलले बताए । उनीहरुलाई ३ वटा प्याकेजमा राहत वितरण गरिने छ ।

पहिलो प्याकेज अन्तर्गत ५ जना भन्दा बढी परिवार संख्या हुनेलाई २५ किलो चामल, ३ किलो दाल, २ लिटर तोरीको तेल र १ केजी आयोडिनयुक्त नुन प्रदान गरिने छ ।

दोस्रो प्याकेजमा ३ देखि ५ जनासम्म परिवार संख्या हुनेलाई २० केजी चामल, २ केजी दाल, ढेड लिटर तेल र १ केजी नुन उपलव्ध गराइने छ । तेस्रो प्याकेज अन्तर्गत २ जनासम्म परिवार संख्या हुनेलाई १५ केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ केजी नुन प्रदान गरिने बताइएको छ ।

त्यस्तै, बैठकले विभिन्न कारणले काठमाडौं गएको बेला लकडाउनमा परेर थुनिएर अलपत्र परेका हल्दिबारीका बासिन्दालाई जिल्ला प्रशासन कार्यालय झापासँग आवश्यक समन्वय गरि यथाशीघ्र घर फर्कने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यसरी आएकाहरुको स्वास्थ्य परिक्षण गरि नियमानुसार क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा राख्ने प्रवन्ध मिलाउने पनि बैठकले निर्णय गरेको प्रवक्ता पोर्तेलले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post